दाँतको समस्याहरुबाट कसरी जोगिने: डा. नियुक्ति अर्जेल

0

मानिसको अन्य स्वस्थ जस्तै दाँतको स्वस्थ पनि महत्पवूर्ण छ । दाँतको मुख्य काम खानेकुरा चपाउने हो । यसर्थ दाँतको सम्बन्ध सम्पूर्ण शारीरीक स्वस्थसँग सम्बन्धित हुन्छ । दाँतमात्र बलियो भएर हुँदैन, दाँतको जरा जुन हाडभित्र हुन्छ, त्यो पनि बलियो हुनु आवश्यक पर्दछ, त्यसका लागी दाँत र गिजा दुवै सफा हुनुपर्दछ ।


मुखलाई सफा र स्वच्छ राख्यो भने स्वस्थ्य पनि राम्रो हुन्छ । त्यसैले दाँत जीब्रो र गिजालाई सफा र स्वस्थ राख्न आवश्यक छ । दाँतमा लाग्ने रोग दुई प्रकारको हुन्छ । एउटा दाँतमा किरा लाग्ने अर्को गिजामा समस्या आउने गिजा रोग विशेषज्ञ डा. नियुक्ति अर्जेल बताउँछिन् ।


दाँतमा कस्तो कस्तो समस्याहरु देखिन्छन् र त्यस्ता समस्याहरुबाट बच्न के के कुरामा ध्यान दिनुपर्छ भन्ने विषयमा डा. अर्जेलको सुझाव यस्तो छ :


दाँत कसरी बिग्रन्छ


हामीले खाएको खानेकुरा दाँतको वरिपरि टासिन्छ, दाँत राम्रोसँग सफा गरिएन भने दिनदिनै खानेकुरा टासिँदै जान्छ । दाँतमा जम्मा भएको खानेकुरा मुखमा भएका हजारौं किटाणुका कारण एसिड बन्छ । त्यही एसिडले दाँत बिगार्न थाल्छ । त्यसैलाई बोलीचालीको भाषामा किरा लागेको भनिन्छ ।

पछिल्लो समय नेपालमा रेडिमेड खानेकुराहरू जतिबेला पनि खाने चलन छ । यसले पनि दाँतलाई असर पुगेको छ । विशेषगरी कुरकुरे, चक्लेट, चाउचाउ, टाँसिने चकलेट, लेज, चिप्स, फ्यान्टाजस्ता रेडिमेड चिजहरू खाने चलन बढ्दै गएको छ । धेरैले यस्ता खाने कुरालाई सजिलो खाजाका रूपमा लिने गरेका छन् । यस्ता खानेकुराहरू खाएपछि दाँत नमाझिकन या कुल्ला नगरी छोड्ने चलन छ । यस्तो बानीले गर्दा दाँत किराले खाने रोग बढेको छ । गुलिया खानेकुरामा चिनी हुन्छ । त्यो दाँतमा जम्मा भएपछि व्याक्टेरिया निस्कन्छ र दाँत किराले खान्छ । त्यस्ता खानेकुरा टाँसिइरहेपछि एसिड निकाल्छ र त्यही वृद्धि भएर दाँत किराले खान्छ।


दाँत किराले खाँदा स्वास्थ्यमा पर्ने असर कस्ता छन्


नेपालमा मुख स्वास्थ्यलाई उल्लेख्य रुपमा महत्व दिइएको पाइँदैन, दाँतको नियमित जाँच पनि गराइदैँन । यसकारण यो क्षेत्रमा दाँत स्वास्थ्यको समस्या बढी हुने गरेको छ । बैज्ञानिक अध्ययनहरुले पनि मुखको समस्या र अन्य मुटो रोग, हाड जोर्नी समस्या र मधुमेहजस्ता रोगहरु सम्बन्धित हुने देखाएको छ ।


कसरी जोगिने


– उचित बानी व्यवहार, खानपानलगायत स्वास्थ्यसम्बन्धी सकारात्मक कुरा अपनाएर कीरा लाग्ने समस्या घटाउन सकिन्छ ।
– राति सुत्नुअघि र बिहान खाजा, खाना खाएपछि दुईपटक दाँत माझ्नुपर्छ । खाना खाएपछि मुख पानीले कुल्ला गर्नु पनि मुख स्वास्थ्यको लागि राम्रो उपाय हो ।
– दाँतमा अड्किएका खानाका कण कुल्ला गर्दा पखालिएर बाहिर निस्किन्छन् । खाद्यकण दाँतमा नरहँदा दाँतमा किरा लाग्नुका साथै मुख गन्हाउने समस्या समेत हुँदैन ।
– नरम ब्रसमा फ्लोराइड भएको टुथपेस्ट हालेर दाँत माझ्नु राम्रो हुन्छ ।
– नियमित रूपमा वर्षको दुईपटक दन्त चिकित्सककहाँ दाँत जचाउन जानुपर्छ ।


गिजाको रोग


दाँतको अर्को रोग भनेको गिजाको रोग हो । गिजाले दाँतलाई समातेर बसेको हुन्छ । दाँत सफा गरिएन भने गिजामा असर गर्छ । दाँतको भागमा लेउजस्तो जमेको हुन्छ । यसलाई निकाल्न प्रत्येक दिनमा दुई पटक खाना खाएपछि ब्रस गर्नुपर्छ । सफाइ नगरे गिजा र हड्डीलाई असर गर्छ । यसले गिजा सुन्निने, रगत आउने, सास गन्हाउने हुन्छ । अझै लापरबाही गर्दै गयो भने किटाणु जम्दै जान्छन् अनि दाँत पनि हल्लिन थाल्छ । यस्तो अवस्थामा या त ठुलै अपरेशन गर्नुपर्छ वा दाँत निकाल्नुपर्छ ।


दाँतको धेरै रोगहरू उपचार गर्न सकिने र रोक्न सकिने हुन्छ । दाँत उमेर पुगेपछि झर्छ भन्ने छैन सुरूदेखि उपचार गर्यो भने दाँतले दुःख दिँदैन । यसका लागि दिनको दुईपटक ब्रस गर्नुपर्छ ।


गिजाको सामस्या हुनबाट बचे उपाय


– जिब्री वा ब्रसको पछाडिको भागले बिस्तारै नियमित रुपमा जिब्रोको सफा गर्नुपर्दछ ।
– खानेकुराहरुमा पनि विशेष ध्यान दिनुपर्दछ । दाँतमा टाँसिने वा गुलिया खानेकुराहरु एकदमै कम मात्रामा खानुपर्दछ ।
– चिकित्सकको सल्लाहबमोजिम माउथवास तथा डिसेन्सिटाइजिङ पेस्टहरु प्रयोग गर्न सकिन्छ ।
– शरीरमा मधुमेहजस्तो किसिमका रोगहरु छ भने गिजासम्बन्धि समस्याहरु आउन नदिन विशेष ध्यान दिनुपर्दछ ।
– गिजा स्वस्थ राख्नको निम्ति भिटामिन सियुक्त फलफुलहरुको नियमित सेवन गर्नुपर्दछ ।
– कम्तिमा पनि वर्षको दुईपटक ६–६ महिनाको फरकमा दन्तचिकित्सक वा विशेषज्ञ चिकित्सकसँग सल्लाह लिनुको साथसाथै दाँत सफा गराउनुपर्दछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here