चुरोट म

0
Cartoon no smoking sign isolated on white background

आयो थ्याच्च बस्यो पिच्च थुक्यो
छैन त माग्यो छ त विस्तारै निकाल्यो
कतै म भाँचिन्छु कि भनेर खुब डरायो
जब झिक्यो अनि दुई ओठमा च्याप्प च्याप्यो
जुठो बनाएर आगो लगायो मलाई दनदनी
र तान्यो मेरो शीरबाट तनतनी सकीनसकी कनीकनी

म हानीकारक छु थाहा छ तिमीलाई
तर पनि निर्धक्क तान्छौ मेरो रस धुँवाबाट
म साँच्चै हानीकारक छु स्वास्थ्यलाई
तर पनि बनाउँछन् मलाई अनेक रुप रुपबाट
र बेच्छन् मलाई अनेक चोकचोकमा सबैलाई
कतै आँत्तिन्छु तातो चियामा त कतै मात्तिन्छु नसालु चुस्कीबाट

म बाहना हुँ कैयौं विचारको
त्यसैले त मेरो धुँवाबाट कति साहित्य जन्मिए
म चाहना हुँ कैयौं आँतहरुको
त्यसैले त म आफु जलेर कतिका तीर्खा मेटिए
म गहना हुँ कैयौं ओठहरुको
त्यसैले त मलाई च्यापेर कत्तिका शान सनक्क सन्कीए

म मित्र हुँ कैयौं टुटेका मनहरुका
तर पनि किन शत्रु मान्छन् सबै मलाई
म उत्तर हुँ कैयौंं बिगे्रका समस्याहरुका
तर पनि किन प्रश्न गर्छन सबै मलाई
म अस्तित्व हुँ कैयौं फाटेका सपनाहरुका
तर पनि किन लुकाएर पिउँछन् धेरैजसो मलाई

म एक त्यागी पनि हुँ
आफू खरानी बनेर कसैलाई शितलता दिने
म एक बैरागी पनि हुँ
आगोले सल्किने अनि धुवाँ भै एक्लै कता कता हराएर जाने
र म एक अभागी पनि हुँ
नसाको राग भर्दिने अनि उमेर चैं अलिअलि गर्दै घटाई दिने

म एक भयानक रिसाहा हुँ
त्यसैले त ओठमा सजिएर तिमीमा खरानी भरि राख्छु
हो म एक भयानक नसा हुँ
धुवाँमा सजिएर जीवनका नसामा डढेलो लागाइ राख्छु
साँच्चै म एक भयानक दशा हुँ
चितामा नपुग्दै तिम्रो जीवनलाई पलपल सल्काई राख्छु

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here