ओझेल परेको पुरुष माथीको हिंसा

0
824

पुरुष मित्रहरूका लागि मेरो प्रश्न छ– तपाईं कुनै सार्वजनिक स्थानमा बसिरहनुभएको छ र कुनै महिलाले गल्तीविना नै तपाईंसँग निहुँ झिकेर गाली गर्दै हातपात गरिन् भने के गर्नुहुन्छ ? यसको प्रतिवाद कसरी गर्नुहुन्छ ? त्यो तपाईंमा भर पर्ला तर वरपरका मानिस र हाम्रो समाजले तपाईंलाई दोषी देख्छ र औंला उठाउँछ । केही दिनअघि यस्तै घटना भयो । म पार्कमा बसिरहेको थिएँ । मेरो छेउमा एक जोडी गफ गर्दै थिए ।

उनीहरूबीचको त्यो कुराकानी केहीबेरमै झगडामा परिणत भइहाल्यो । महिलाले चर्को स्वरमा बोल्दै पुरुषमाथि हातपात गरिन् । पुरुषले भने भौतिक आक्रमण गरेनन्, मौखिक जवाफ मात्र फर्काए । एकैछिनमा मानिसहरुको भीड भयो । उनीहरूले त्यहाँ वास्तविकता नबुझी पुरुषको गल्ती देखे । केही महिला त ती व्यक्तिलाई प्रहरीकहाँ लैजाने भन्दै थिए । के सधैँ पुरुष मात्र हिंसा गर्छन् र ? महिलाले पनि हिंसा गर्न सक्छन् नि ।

हाम्रो समाजमा महिलामाथि विभिन्न प्रकारका हिंसा भएको सुन्न पाउँछौं, तर पुरुषमाथि हुने हिंसा भने ओझेल पर्छन् । भनिन्छ-महिला र पुरुष बाराबर हुन्, तर त्यो व्यवहारमा छैन । महिला र पुरुषबीचको खाडल अझै पुरिन सकेको छैन । नेपालको सन्दर्भमा हेर्ने हो भने पितृसत्तात्मक धरातलबाट आएको हाम्रो समाजमा तुलनात्मक रूपमा पुरुषभन्दा महिला हिंसा बढी हुने गरेको छ । दिनहुँ बलात्कार, कुटपिटका घटना भएको सुन्न पाउँछौं । पुरुषमाथि हुने हिंसा पनि बढ्दो छ, तर सतहमा आउँदैन । त्यस्ता घटनालाई प्रहरी प्रशासन र सञ्चारमाध्यमले पनि खासै गम्भीरताका साथ लिँदैनन् ।

आखिर हिंसा त हिंसा नै हो । यसले महिला र पुरुष केही भन्दैन । पुरुषविरुद्ध शारीरिक र मानसिक दुईखाले हिंसा समाजमा देखिने गरेका छन् । पुरुषहरूमाथि शारीरिकभन्दा मानसिक हिंसा बढी हुने गरेको छ । पछिल्लो समय यो बढ्दो छ । महिलामाथि हिंसा भएमा आवाज उठाउने संघसंस्थाहरु छन् तर पुरुषमाथि हिंसा भए आवाज उठाउने ठाउँ नै छैन । हाम्रो समाजमा पृत्तिसत्तात्मक सोच हाबी छ ।

अधिकांशको सोच आफूलाई महिलाभन्दा माथि देखाउनु नै हुन्छ । यही दम्भले पुरुषहरू आफूमाथि हुने हिंसा सतहमा ल्याउन चाहँदैनन् । कसैले सञ्चारमाध्यम वा प्रहरीसमक्ष उजुरी दिए पनि त्यो केवल हाँसोको विषय मात्र बन्छ । कुनै दिन महिलाद्वारा पुरुष पिटिएको समाचार आयो भने त्यो केवल हाँसोको विषय बन्छ र समाजमा ती पुरुषलाई विभिन्न उपनाम दिएर खिल्ली उडाइन्छ ।

नेपालको सन्दर्भमा कानुनले महिला सशक्तीकरणको नाममा बनेका विभेदपूर्ण कानुनले दिएका अधिकारको गलत प्रयोग गर्नेहरू पनि छन् । पुरुषको सन्दर्भमा कानुनी असहजता पनि प्रशस्तै छन । उदाहरणको लागि हेर्ने हो भने कुनै पनि महिलाले सम्बन्ध–विच्छेद गर्न चाहेमा सीधै अदालत जान पाउने कानुनी प्रावधान छ भने पुरुषको लागि त्यस्तो प्रावधानको व्यवस्था छैन ।

उनीहरूका लागि सम्बन्धित गाविस वा नगरपालिकामा मुद्दा दर्ता गर्नुपर्ने र एक वर्षको समयअवधिभित्र दुवै पक्षलाई बोलाएर छलफल गरी मिलाउने प्रयास गर्ने, नमिले त्यसको व्यहोरासहितको मुद्दा सम्बन्धित जिल्ला अदालतमा पठाउने कानुनी प्रावधान छ ।

केही महिलाले यी अधिकारको गलत प्रयोग पनि गरेका छन् । उनीहरू आधा सम्पत्ति पाउने लोभले सम्बन्ध–विच्छेद गर्छन् त केही प्रेमको नाटक गर्छन् र आधा सम्पत्ति लिएर जान्छन् । यस्ता घटना हाम्रो समाजमा बढ्दै गएको छ । महिला सशक्तीकरण हेतु बनाइएका यस्ता महिलामैत्री कानुन दुरुपयोग हुनु निश्चय नै दुर्भाग्यपूर्ण हो । नेपालमा मात्र होइन, अरू देशमा पनि महिलाद्वारा पुरुष हिंसा हुन्छ तर ती घटना सतहमा आउँदैन ।

बेलायतमा द म्यानकाइन्ड इनिसियटिभ भन्ने एक संस्थाले गरेको अध्ययनअनुसार त्यहाँ हुने गरेको हरेक हिंसामा हरेक तीनजनामध्ये एकजना पुरुष र दुईजना महिला पीडित हुने गरेको पाइएको छ । त्यस्तै सन् २०१५ मा त्यहाँ गरेको एक अध्ययनअनुसार २.८ प्रतिशत पुरुष महिलाबाट पीडित भएका थिए ।

केही साताअघि श्यारन एड्वार्ड्स नाम गरेकी एक महिलाले आफ्ना पति डेभिडको निर्ममतापूर्वक चक्कुले हत्या गरिन् । यो घटनाले बेलायती सत्तचारमाध्यममा सनसनी फैलियो । सन् २०१४ र १५ मा मात्र बेलायतमा १८ पुरुषले प्रेमिका वा श्रीमतीका हातबाट ज्यान गुमाएका थिए । क्यानडामा सन् २०१४ मा भएको एक अध्ययनअनुसार त्यहाँ महिलाभन्दा पुरुष बढी पीडित भएको पाइयो । यी देशमा कानुन पुरुषमैत्री छैन । सरकारले महिला हिंसाविरुद्ध कदम चाले पनि पुरुष हिंसा भने प्राथमिकतामा पर्ने गरेको छैन ।

हिंसाको कुनै जात, लिंग हुँदैन । यो जोकोहीलाई पनि हुन सक्छ । तर हाम्रो समाजमा पुरुषमाथि हुने हिंसा सतहमा आउन सक्दैन ।

नेपालमा शारीरिकभन्दा पनि मानसिक हिंसा तुलनात्मक रूपमा पुरुषमाथि बढी हुने गर्छ । अहिले धेरै युवा रोजगारको लागि घरमा पत्नी र बालबच्चा छोडेर बिदेसिने क्रम बढ्दो छ, तर विदेशबाट पतिले कमाएर पठाएको पैसा पत्नी मोजमस्ती गरेको र परपुरुषसँग लागेका घटना सुन्न पाउँछौं । मेरा एकजना छिमेकी आफ्नो घरमा पत्नी र बालबच्चा छोडेर कामको लागि खाडी मुलुक लागे । यहाँ हुँदा उनी एउटा पसल चलाउँथे ।

उनी भन्ने गर्थे, ‘नेपालमा यसरी बसेर त के होला र खोइ, कमाएको पैसा खान, लगाउन मात्र ठिक्क भयो। ‘उनको सपना थियो– पैसा कमाएर काठमाडौँमा घर बनाउने र आफ्नो परिवारलाई सुखका साथ राख्ने । त्यसैले उनी विदेश गए र त्यहाँ कमाएको पैसा यहाँ पठाउने गर्थे । तर यहाँ भने उनकी पत्नी पर पुरुषसँग लागिन् । सबै पैसा मोजमस्तीमै खर्च गरिन् । उनी पछि छोरालाई लिएर त्यही पुरुषसँगै गइन् । कानुनले पनि ती महिलाकै पक्षमा फैसला गदिरियो र छोरा पनि ती महिलाले नै लिएर गइन् ।

महिला र पुरुष बराबर हुन् । हिंसाको कुनै जात, लिंग हुँदैन । यो जोकोहीलाई पनि हुन सक्छ । तर हाम्रो समाजमा पुरुषमाथि हुने हिंसा सतहमा आउन सक्दैन । अहिले नारीवाद र फेमिनिज्मको बाढी नै आएको हाम्रो समाज खाली पुरुषको मात्र गल्ती देख्छ । सधैँ पुरुष मात्र कठोर हुन्छन् भन्ने छैन । महिला हिंसा भए त्यसविरुद्ध आवाज उठाउने थुप्रै संघसंस्था छन्, कानुन पनि महिलामैत्री छ, तर पुरुषमाथि हिंसा भए त्यसविरुद्ध आवाज उठाउन कहाँ जाने ? हाम्रो समाजले एउटा यथार्थ स्विकार्नुपर्छ– सधैँ पुरुषले मात्र महिलामाथि हिंसा गर्दैनन्, महिलाले पनि पुरुषमाथि हिंसा गर्न सक्छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here