गाजाः प्रयोग गर्न जाने औषधि

0
771

एकसमय खतरनाक लागूऔषधको रूपमा लिइने गाजाप्रतिको दृष्टिकोण समयसँगै परिवर्तन भएको छ । अहिले अमेरिकी तथा युरोपका थुप्रै सहरमा गाजा खुला गरिएको छ । अन्य देशहरूले पनि गाजासम्बन्धी नियम खुकुलो बनाउँदे गएका छन् । बंगलादेश, चिली, मेक्सिको, क्यानडा, स्पेन आदि देशहरू गाजा प्रयोगमा केही उदार हुँदै गएका छन् ।

अमेरिकाका २३ राज्यले गाजालाई औषधिको रूपमा प्रयोग गर्न अनुमति दिएका छन् । भारतका केही राज्यले औद्योगिक प्रायोजननिम्ती गाजा खेती गर्न अनुमति दिएका छन् । त्यस्तै चीन पनि यसमा उदार देखिँदै आएको छ । हेम्प (यसको प्रजाति) उत्पादनमा चीन फ्रान्सपछिको दोस्रो स्थानमा रहेको छ ।

७० को दसकअघि नेपालमा पनि गाजा उत्पादन र खेतीमा कुनै प्रतिबन्ध लागेको थिएन । सन् १९७६ मा सरकारले अमेरिकी दबाबमा गाजाको प्रयोग र उत्पादनमा रोक लगायो । त्यस दसकमा नेपालमा हिप्पी युगको सुरुआत भयो । अमेरिकालगायत अन्य मुलुकबाट नेपालमा गाजा खानेको घुइँचो लाग्थ्यो । यही कारणले अमेरिकाले आफ्नो नागरिकप्रति चिन्ता दर्शाउँदै नेपालमा गाजा प्रतिबन्ध गर्न दबाब दियो । अहिले करिब ४० वर्षपछि अमेरिकाले गाजाको प्रयोग र उत्पादन आफ्ना राज्यहरूमा खुला गर्‍यो, अन्यथा त्यहाँका मानिस गाजाको प्रयोग गर्न छोड्दैनथे र राज्यले आफ्ना नागरिकलाई अपराधीको रूपमा व्यवहार गरिरहन्थ्यो, जसले गर्दा अपराधको जालो बढ्दै जान्थ्यो ।

नेपालमा अझै पनि गाजालाई लागूऔषधको रूपमा हेरिन्छ । सरकारले यसको प्रयोग र उत्पादनलाई अपराधको रूपमा हेर्छ र दण्डित गर्छ । गाजाको नाम सुन्नेबित्तिकै नाक खुम्च्याउने पनि धेरै छन् । यसको समर्थनमा केही बोले वा लेखे पनि त्यसलाई नकारात्मक रूपमा हेर्ने धेरै छन्, तर गाजाको प्रयोग रोकिएको छैन । नेपालमा युवामाझ गाजाको प्रयोग बढ्दै गएको छ । प्रहरी र प्रशासनले जति कडाइ गरे पनि यसको प्रयोग रोकिएको छैन । यसमा गरेको कडाइले अन्य खतरनाक दुव्र्यसनी मौलाउँदै गएको छ ।

हामीकहाँ चुरोट र रक्सी खानु सामान्य मानिन्छ तर गाजा खानु अपराध मानिन्छ । अनुसन्धान र अध्ययनअनुसार रक्सी र चुरोटको तुलनामा गाजा कम हानिकारक छ । जबदेखि मानिसलाई गाजाबारे थाहा भयो, तबदेखि नै यसको प्रयोग र ओभर डोजबाट कसैले पनि ज्यान गुमाएका छैनन् । सन् २०१० मा ल्यान्सेटमा प्रकाशित लेखअनुसार ड्रग एक्स्पेर्टले गरेको अध्ययनअनुसार चुरोट र रक्सीको असरभन्दा गाजाको असर तुलनात्मक रूपमा कम हुन्छ । हामी सोच्छौँ, गाजा सेवनकर्तामा यसको शारीरिक परनिर्भरता बढी हुन्छ । तर अध्ययनले देखाएअनुसार चुरोट र बिँडी खानेहरूमा तिनको शारीरिक परनिर्भरता ३० प्रतिशत हुन्छ तर गाजामा त्यस्तो लत लाग्दैन ।

एक लेखअनुसार औषधि विज्ञानले गाँजालाई अहिले उपलब्धिमूलक र सहयोगी औषधिका रूपमा लिएको छ । ‘यसलाई विभिन्न प्रायोजनको लागि प्रयोग गर्न सकिन्छ ग्लाउकोमा’ भन्ने आँखा रोग, मुर्छा पर्ने, अनिद्रा, अल्जाइमर्स, शारीरिक पीडा, अपचजस्ता समस्याको उपचारका निम्ति गाँजा सहयोगी देखिन्छ । नौजिया र अत्यन्त दुखाइको राहतको लागि पनि यो प्रयोग गर्न सकिन्छ ।

क्यान्सर सेलहरू मार्न र रक्सी तथा अन्य हानिकारक लागूऔषधको लत छुटाउन पनि गाँजा उपयोगी हुने अनुसन्धानले देखाएको छ । यसको मद्दतले अरू थुप्रै किसिमका घातक रोगहरूको उपचार गर्न सकिन्छ । तर गाँजाले हृदयगति बढाउने, धुवाँले श्वासप्रश्वास प्रणालीमा असर गर्ने तथा अन्य सामान्य शारीरिक गतिविधिमा प्रभाव पार्ने पनि देखिएको छ ।

यी उदाहरण दिनुको तात्पर्य हामीले गाजाको निजी प्रयोगको लागि प्रोत्साहन गर्नुपर्छ भन्ने होइन । हामीले यसका अनगिन्ती फाइदाको सही उपयोग गर्न सक्नुपर्छ । यहाँ त हाम्रो कानुन कस्तो छ भने कसैले गाजा बोकेको छ भने पनि उसलाई समातेर जेल हाल्छ र त्यहाँबाट छुट्न निकै गाह्रो पर्छ । केही समयअघिको कुरा, मेरा एकजना साथी अरू साथीहरूसँग बसेर गफ गर्दै थिए, अरू गाजा पनि खाँदै थिए तर ती साथीले भने अहिलेसम्म गाजा खाएका थिएनन् । त्यत्तिकैमा प्रहरी आयो र सबैलाई भ्यानमा हालेर प्रहरी कार्यालय लग्यो र मुद्दा चलाइयो । त्यहाँबाट उनलाई छुट्न लगभग ५-६ दिन कुर्नुपर्‍यो । पछि प्रहरीले उनको आमाबाबुको जिम्मा लगायो । समाजमा पनि त्यो कुरा फैलियो । अहिले उनलाई धेरैले नराम्रै सोच्छन्, उनको समाजमा ।

यहाँ कोही मानिस गाजा खानेसँगै बसेको देखे ऊ अपराधी ठहरिन्छ । जबकि गाजा खाएर कसैले सामाजिक अपराध गरेको खबर छैन । रक्सीको मातमा विभिन्न आपराधिक घटना भएका छन् । बलत्कार, हत्याका घटना भएका छन् । त्यस्तै चुरोटले पुर्‍याउने क्षतिका बारेमा पनि हामी अवगत नै छौँ । अध्ययनअनुसार ६ मिलियन मानिस चुरोट सेवनले हरेक साल मर्ने गर्छन् । यही क्रम रहे सन् २०३० सम्म चुरोटको कारणले आठ मिलियन मानिसको ज्यान जान सक्नेछ । त्यस्तै अर्को अध्ययनअनुसार रक्सीको सेवनबाट संसारमा २.५ मिलियनभन्दा बढी मानिसको ज्यान जाने गरेको छ । तर गाजा सेवनबाट अहिलेसम्म कसैको ज्यान गएको सुनिएको छैन ।

यहाँ त रक्सी र चुरोटलाई आफ्नो शानको रूपमा लिने गरिन्छ । विवाह, व्रतबन्धमा पनि यसको प्रयोग खुलेआम हुने गरेको छ । स्वास्थ्यमा पुर्‍याउने क्षतिको हिसाब हेर्ने हो भने गाजा चुरोट र रक्सीको तुलनामा निकै कम हानिकारक छ । यहाँ धेरैको बुझाइ के छ भने गाजा भनेको लागूऔषध हो । त्यो सोचाइमा परिवर्तन आउन सकेको छैन । धेरैले के सोचेका छन् भने गाजा खाएपछि मानिस अरू दुव्र्यसनीमा फस्ने सम्भावना धेरै हुन्छ । तर अध्ययनले देखाएअनुसार त्यसो हुँदैन । साँच्चिकै दुव्र्यसनीमै फस्नु छ भने जाँड, चुरोट, रक्सी खाए पनि फसिन्छ ।

गाजा वातावरणमैत्री र कम खर्चमै उत्पादन गर्न सकिने वस्तु हो । यसका अनगिन्ती प्रयोग गर्न सकिन्छ । यसले नेपालको आर्थिक उन्नतिमा पनि ठूलो मद्दत गर्न सक्छ । गाजाको पातबाट लगभग हामीलाई आवश्यक सम्पूर्ण वस्तु उत्पादन गर्न सक्छौँ । हामीले यसबाट कागज, तेल, औषधिलगायत अन्य थुप्रै वस्तु उत्पादन गर्न सक्छौँ । यसको सही उपयोग गर्न सके नेपालमा रोजगारको अवसर सृजना गर्न सकिन्छ ।

एकजना विदेशीले भनेका थिए, नेपालमा भएको अमूल्य गाजा खेतीको सही प्रयोगले नेपाल एसियाको स्विट्जरल्यान्ड बन्न सक्छ । समयसँगै गाजाप्रति संसारको सोचाइ परिवर्तन हुँदै गएको अवस्थामा नेपालले पनि यससम्बन्धी कानुन खुकुलो बनाएर यसको सदुपयोग गर्नुपर्छ र यसबाट फाइदा लिन सक्नुपर्छ । हामीले पनि यसप्रतिको दृष्टिकोण र बुझाइमा परिवर्तन ल्याउनु आवश्यक छ । यसले गर्दा नेपालको आर्थिक उन्नतिमा ठूलो टेवा पुर्‍याउँछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here