सार्वजनिक यातायातमा नागरिकका पीडा

0

सार्वजनिक यातायात आधुनिक सहरी सभ्यताको परिचय हो । व्यवस्थित सार्वजनिक यातायातले सहरको सुन्दरता बढाउँछ । यसले सुन्दर सहरको कल्पना साकार पार्छ । विडम्बना लगभग ४० लाख नागरिक बसोवास गर्ने राजधानी काठमाडौँमा अझै पनि सार्वजानिक यातायात व्यवस्थित छैन ।

विगत १५ वर्षमा यहाँको जनसंख्या १४० प्रतिशतले बढेको छ । निजी तथा सार्वजनिक यातायातको संख्या पनि उल्लेख्य मात्रामा बढेको छ । यही अवस्था कायम रहे आगामी १० वर्षमा काठमाडौँ उपत्यकामा अहिले उपलब्ध १५ सय किलोमिटर सडकमा आफ्नो स्पेस खोज्दा ५० लाख सवारी साधन कसरी गुड्लान् ?

प्रत्येक वर्ष सवारीसाधन थपिएका छन्, त्यससँगै नियम पालना नगर्ने प्रवृत्ति हावी हुँदै गएको छ । सार्वजनिक यातायतमा यात्रा गर्न निकै गाह्रो छ । आनन्दले गाडीको सिटमा बसेर घर आउन पाइयो भने पनि त्यसलाई उपलब्धि नै मान्नुपर्छ । प्रायः गाडी साना र थोत्रा छन् । कहिले त गाडी नपाएर यात्रु त्यही सानो गाडीमा कोचिएर चढ्न बाध्य हुन्छन् । साना गाडीमा कोचिएर यात्रा गर्नुको पीडा दुःखद् छ ।

हरेक दिन बस तथा माइक्रो चढ्न लडाइँ नै गर्नुपर्छ । सबैभन्दा बढी पीडा असक्त र वृद्धवृद्धाले भोग्नुपर्छ । आखिर अरू कुनै उपाय पनि त छैन । त्यसैले झुन्डिएर भए पनि यात्रा गर्न बाध्य छन् उनीहरू । कहिलेकाहीँ त असक्त र महिला पनि झुन्डिएर यात्रा गर्न बाध्य हुन्छन्, त्यस्तो दृश्य देख्दा मन नै चुँडिएर आउँछ । दिनहुँ मानिस आफ्नो ज्यान जोखिममा राखेर हिँड्न बाध्य छन् ।

केही साता अघि मात्र बसमा मानिसको चाप बढी भएर बसबाट खसेर एक यात्रुको मृत्यु भयो । त्यसमाथि ठाउँ नभए पनि बसमा क्षमताभन्दा बढी यात्रु राखिन्छ, जसका कारण मानिसलाई बढी सकस हुन्छ । यस विषयमा न कुनै कानुन छ, न भएको कानुन नै कार्यान्वयन हुन्छ । सार्वजनिक यातायात आम जनतासँग प्रत्यक्ष सरोकार राख्ने विषय हो, तर सरोकारवाला पक्ष र सरकारले यसलाई व्यवस्थित गर्न कुनै काम नगर्दा आम जनताले पीडा भोग्नुपरेको छ ।

सवारी तथा यातायात व्यवस्था नियमावलीअनुसार बसले २६ देखि ५६ जना, मिनीबसले १५ देखि २५ र माइक्रो बसले १४ यात्री राख्न सक्ने सिट क्षमता उल्लेख छ । तर राजधानीलगायत मुलुकका जुनसुकै भागमा यातायात व्यवसायीले ऐन पालना भएको पाइँदैन । सिट क्षमताभन्दा बढी यात्रु चढाउँछन्, जहाँ पायो त्यही ओराल्छन्, सार्वजनिक यातायातमा निकै समस्या छ ।

सिन्डिकेट पद्धतिले गर्दा सार्वजनिक सवारीसाधनमा यात्रा गर्दा ठेलमठेलको स्थितिमा यात्रुले आवातजावत गर्नुपर्छ । दुईजनाको सिटमा तीनजना राखिदिन्छन् । त्यो गलत भए पनि रोक्न ट्राफिक प्रहरी अग्रसर हुँदैनन् । अधिकांश सवारी साधनले जथाभावी यात्रु बोक्छन् ।

अधिकांश गाडी थोत्रा र पुराना छन् । प्रायजसो सिट च्यात्तिएका हुन्छन् । अधिकांश बस, माइक्रो दुर्गन्धित हुन्छन् । त्यसमाथि चालक र सहचालकले यात्रुलाई गर्ने व्यवहार पनि सन्तोषजनक छैन । उनीहरूको टर्रो बोली आम यात्रुको गुनासोको विषय बन्ने गरेको छ ।

यहाँ सार्वजानिक यातायातभन्दा बढी निजी गाडी र मोटरसाइकल नै गुडेका देखिन्छन् । आवश्यकताभन्दा पनि सामाजिक प्रतिष्ठाको होडबाजीमा निजी सवारी साधन भित्त्याउने फेसन नै बढेको छ । अचम्म त के छ भने, सबभन्दा हतार ती मोटरसाइकलचालक वा गाडीवालालाई नै हुन्छ । यसले गर्दा उनीहरू जहाँबाट पनि सवारी छिराइदिन्छन् र अनावश्यक जाम गराउँछन् ।

गाडीचालकहरू पनि त्यस्तै छन्, जहाँ मन लाग्यो त्यहीँ रोकिदिन्छन् । अनि यात्रुलाई पनि दुई पाइला हिँड्न सकस हुन्छ । गाडी रोक्ने निश्चित ठाउँ हुन्छ, तर यात्रुलाई घरको अगाडि नै रोक्नुपर्छ । यहाँ सार्वजनिक साधन नियमले तोकेको ठाउँमा नभई जहाँ चालक र यात्रु चाहन्छन् त्यही रोकिन्छ । गाडी पर्याप्त भए पनि कामको चापले गर्दा उनस्हरू भरिएका सवारीसाधन नै चढ्छन् ।

ठाउँठाउँमा सुविधासम्पन्न प्रतीक्षालय बनाउनुपर्छ र भएका नियम कडाइका साथ लागू हुनुपर्छ । चालक, सहचालकले यात्रुप्रति गर्ने व्यवहार, बोल्ने बोलीमा पनि आवश्यक सुधार गर्नुपर्छ । जेब्राक्रसिङ, लेन, आकासे पुल ठाउँठाउँमा निर्माण गरेर उचित प्रयोग गर्नुपर्छ । भएका साधन र नियमलाई व्यवस्थित गर्नुपर्छ ।

जेब्राक्रसिङ र आकासे पुल हुन्छ तर मानिस पुलमुनिबाट हिँडिदिन्छन् । जसले गर्दा अनावश्यक जाम हुन्छ । मोटरसाइकलयात्री र अन्य चालक पनि जहाँ जेब्राक्रसिङ हुन्छ त्यहाँनेर सवारीको साधनको गति बढाउँछन् । ट्राफिक त हुन्छ अगाडि, तर मन लागे कारबाही गर्छन् नत्र त्यतिकै छोडिदिन्छन् । सार्वजनिक यातायातमा यात्रा गर्दा विझाउने अर्को कुरा भनेको सहचालक र चालकले यात्रुप्रति गर्ने व्यवहार र बोली हो । प्रायः गाडी स्टाफको बोली रुखो नै हुने गर्छ । यो व्यवहार रोक्न ट्राफिक असमर्थ हुन्छन् र यसको सास्ती हामी सर्वसाधारण जनताले भोग्नुपर्छ ।

अब सरकारले साना र थोत्रा गाडीको संख्या घटाएर सुविधासम्पन्न ठूला गाडी बढाउनुपर्छ । पुराना गाडी विस्थापित गर्नुपर्छ । मोटरसाइकलको संख्या पनि तुलनात्मक रूपमा घटाउनुपर्छ । जथाभावी मोटरसाइकल चलाउनेलाई कडाभन्दा कडा कारबाही गर्नुपर्छ । केही त मान्छे हिँड्ने लेनबाट चलाउँछन् त्यही नजिक रहेका प्रहरी मुकदर्शक बनिदिन्छन् । विशिष्ट व्यत्तिीहरूको सवारीले पनि अनेक समस्या निम्त्याएका छन् ।

यसलाई पनि व्यवस्थित गर्नुपर्छ । नयाँ गाडी थपेर यात्रुको चाप घट्दैन । अब त्यसको चाप यहाँका सडकले थाम्न सक्दैन । त्यसैले नयाँ र स्तरीय सवारीसाधन ल्याउन सरकार र निजी क्षेत्रले विशेष पहल गर्नुपर्छ ।

ठाउँठाउँमा सुविधासम्पन्न प्रतीक्षालय बनाउनुपर्छ र भएका नियम कडाइका साथ लागू हुनुपर्छ । चालक, सहचालकले यात्रुप्रति गर्ने व्यवहार, बोल्ने बोलीमा पनि आवश्यक सुधार गर्नुपर्छ । जेब्राक्रसिङ, लेन, आकासे पुल ठाउँठाउँमा निर्माण गरेर उचित प्रयोग गर्नुपर्छ । भएका साधन र नियमलाई व्यवस्थित गर्नुपर्छ । जसले यसको जथाभावी प्रयोग गर्छन् उनीहरूलाई कडा कानुनका साथ कारबाही गर्नुपर्छ ।

जब कानुन कडा हुन्छ, यो उल्लंघन गर्नेको संख्या घट्दै जान्छ र आफैं निरुत्साहित हुन्छन् । भएका थोत्रा माइक्रो, टेम्पोलाई विस्थापित गरेर नयाँ र सुविधासम्पन्न गाडी भित्त्याउनुपर्छ । ठाउँठाउँमा सीसीटीभीको व्यवस्था गर्नुपर्छ र जसले नियम उल्लंघन गर्छ, त्यसलाई कडा कारबाही गर्नुपर्छ । त्यसमाथि भएका ट्राफिक बत्तीको पनि उचित प्रयोग हुन सकेको छैन । यसले गर्दा सडकको सकस झन् बढेको छ ।

विकसित देशमा व्यवस्थित सार्वजनिक यातायात हुन्छ । र त्यहाँको नियम पनि कडा हुन्छ । तर यहाँ भएका नियमले ठूलालाई छुँदैनन् । केही दिनअघि मात्र कम्बोडियाका प्रधानमन्त्री हुनसेनलाई मोटरसाइकल चढ्दा हेल्मेट नलगाएका कारण प्रहरीले पक्रेको समाचार ‘भाइरल’ बन्यो । झन्डै १८ वर्षदेखि प्रधानमन्त्री पदमा रहेका शक्तिशाली उनलाई प्रहरीले पक्राउ गर्‌यो र जरिबाना तिरे ।

सबैभन्दा चकित पार्ने घटना त उनी स्वयं प्रहरी थाना गएर जरिबाना बुझाए । यहाँ त भएका नियम पनि कार्यान्वयन हुँदैन । भएपनि यसले ठूलालाई छुँदैन । त्यसैले कानुन सबैलाई समान हुनुपर्छ र यसको कडा कार्यान्वयन हुनुपर्छ । व्यवस्थित सवारीसाधनले देश र सहरको सुन्दरता झल्काउँछ ।



LEAVE A REPLY

Please enter your comment!
Please enter your name here