सामाजिक जञ्जाल

0

आजकाल हामी सामाजिक सञ्जालबाट धेरै अपेक्षा राख्छौँ तर विडम्बना एकअर्काबाट निकै कम । सामाजिक सञ्जालको नशा हामीमा यति चढेको छ कि एकअर्काका लागि समय निकाल्न पनि हामीसँग फुर्सद छैन । हामी प्रविधिको यति धेरै दास भएका छौँ कि कसैसँग भेट्दा पनि हाम्रो ध्यान कुराभन्दा बढी मोबाइल र इन्टरनेटमा हुन्छ । अनि त्यस्तो भेटघाटको के अर्थ ? क्याफे, पार्क जतासुकै वाइफाइ भएपछि मानिसहरू भेट्न जाँदा पनि एकअर्कासँग गफभन्दा बढी मोबाइल, इन्टरनेटमै व्यस्त । कतिपय त बाटोमा हिँड्दा पनि मोबाइलमा इन्टरनेटको प्रयोग गरेर गफ गर्दै हिँड्छन्।

नेपालमा फेसबुक प्रयोगकर्ताको संख्या करिब ५८ लाख रहेको छ । ट्विटर प्रयोगकर्ता आठ लाख छन् । त्यस्तै अर्को रिपोर्टअनुसार हामी सामाजिक सञ्जाल र प्रविधिमा दैनिक आठ घन्टा व्यतित गर्छौं । त्यो भनेको वर्षमा १२१ दिन हुन्छ । सामाजिक सञ्जालमा नै हामी यति समय खर्च गर्छौं।

फेसबुक–ट्विटरमै हाम्रो दिनचर्या बित्ने गर्छ । फेसबुकमा त हजारभन्दा बढी साथी हुन्छन्, तर त्यसको केही अर्थ हुँदैन । जब आफूलाई पर्छ तब आफू एक्लो परिन्छ । हामी मित्रताको गुणस्तरीयताभन्दा पनि बढी यसको संख्यामा रमायाँै । हामी भेटमा भन्दा पनि अनलाइन कुराकानीमै रमाउँछौँ । हाँसो, खुसीजस्ता मानिसका भावना पनि अनलाइन नै व्यक्त गर्छौं । आजकल त फेसबुकमै माया बस्छ र फेसबुकमै डिभोर्स पनि । आजकाल माया भन्ने चिज नै फेसबुकले सस्तो बनाइदिएको छ । यस्ता सञ्जालले हाम्रो सम्बन्धलाई फिक्का बनाइदिएको छ । मायाका नाममा त्यति धेरै गीत लेखिए, कविता लेखिए, कयौँले ज्यान दिएको इतिहास छ । तर अहिले मायाको त्यो गहिराइ हराएर गएको छ । मेरा एक मित्रको एकै समयमा तीन प्रेमिका छन्, ती सबैलाई उनले फेसबुकमै भेटेका हुन् । उनको मायाको गहिराइ कति छ, त्यो उनलाई नै थाह होला।

आज हाम्रा सामाजिक सञ्जाल अनुभव हेर्दा यस्तो लाग्छ, हामी सहभागिता होइन विचार व्यक्त गर्न, छलफल होइन आफ्नो कुरा राख्न, गहन ढंगले कुराकानी होइन बोक्रे टिप्पणी गर्न उद्यत हुन्छौँ । कहिलेकाहीँ त यस्तो लाग्छ कि यस्ता सामाजिक सञ्जालहरूको प्रयोग एकअर्कासँग कुरा गर्नभन्दा पनि एक अर्काबारे कुरा गर्न गरिन्छ । हामी प्रायः आफ्नै कुराहरू राख्न बढी लालायित हुन्छौँ र त्यसमा आउने लाइक, राम्रा कमेन्टले मख्ख पर्छांै । आफूसँग विचार मिल्नेसँग मात्र सूचना आदानप्रदान गर्छौं र नमिल्नेलाई कि त ब्लक गर्छौं कि त अनफलो । फेसबुकमा पनि कोही त घन्टैपिच्छे आफ्नो फोटो परिवर्तन गर्छन् र त्यसमा आउने लाइक र कमेन्टले मख्ख पर्छन् । कोही त यस्ता पनि हुन्छन् जो लाइक बढाउनकै निम्ति लाइक गर्देऊ न भन्दै मेसेज गर्छन् । कोही त खोक्रो आडम्बर देखाउन पनि यसको प्रयोग गर्छन् । कसैलाई सहयोग ग¥यो, त्यसबाट आनन्द लिनुको साटो त्यसको प्रचार गर्नै हतार हुन्छ र फेसबुकमा राखिहाल्छन् र त्यसमा आउने लाइक, कमेन्टले मख्ख पर्छन्।

अनि अहिले त सेल्फीको जमाना छ, जहाँ गयो सेल्फी, जसको कारणले दुर्घटना पनि भएका छन । सेल्फी खिचेर फेसबुकमा देखाउन हामी जस्तोसुकै भिर–किनारमा पनि जान डराउँदैनौँ । कोही कोही त फेसबुकमा फोटो हाल्नकै निम्ति घुम्न जान्छन् । कतै अलि राम्रो ठाउँमा पुगियो भने त्यस ठाउँको आनन्द लिनुको साटो फेसबुक, ट्विटरमा हाल्नै हतार हुन्छ । आफूलाई इन्टलिजेन्ट वा प्रबुद्ध देखाउन किताब वा उपन्यास समातेर फोटो राख्छन् । कहिलेकाहीँ त लाग्छ, विदेशमा बस्ने नेपालीहरूले देखावटी र झुटो आडम्बरसहित फोटो र स्ट्याटस नहाल्दिए नेपालबाट विदेशिने निकै कम हुने थिए कि ? उनीहरू विदेश गएर भाँडा नै माझे वा दुःख कष्ट गरे  नि फेसबुक, ट्विटरमा चाहिँ उनीहरूको जिन्दगी एकदम दामी र राम्रो छ भन्ने देखाउँदै फोटो स्ट्याटस हाल्छन् । र त्यही देखेर यहाँका युवाहरू आकर्षित हुन्छन् र त्यहाँ पुगेपछि मात्र वास्तविकता थाहा पाउँछन्।

वाइल घोनिम भन्छन् ‘सामाजिक सञ्जालले गलत सूचना, अफवाह र घृणाको भाषा फैलाउँदै समाजलाई झनै ध्रुवीकृत बनायो । वातावरण विषाक्त पा¥यो । अनलाइन संसार ट्रोल, झुट र घृणाले भरिएको रणभूमि बन्यो ।’ फेसबुकमा छाउने अनेक किसिमका अनलाइन समाचारले मानिसमा झुटको खेती ग¥यो । लाइक र कमेन्टको संख्या बढाउन मानिस अनेक किसिमका गलत सूचना प्रवाह गर्न बढी उद्यत भए । जब कुनै नारी बलात्कृत हुन्छे, हामी सहानुभूति पाउन ती नारीको फोटो हालिदिन्छौँ । त्यसले उनको परिवार र आफन्तमा के कस्तो असर पार्न सक्छ भन्ने सोच्दैनौँ।

आजकाल सामाजिक सञ्जाल आफ्नो तारिफ वा आफूले गरेको कामको प्रचार गर्ने माध्यम बनेको छ । हामी हरेक दिन फेसबुकमा साथीलाई जन्मदिनको शुभकामना त दिन्छौँ तर प्रायःलाई त हामीले चिनेका पनि हुँदैनाैँ, बोल्ने त परै जाओस् । हामी एक यान्त्रिकजस्तो भएका छौँ । खोक्रो आडम्बर देखाउने ठाउँ बन्यो सामाजिक सञ्जाल र हामी पनि त्यसमै रमायाँै । सामाजिक सञ्जालमा स्वस्थ छलफल, सूचनाको आदानप्रदानभन्दा पनि बढी आफ्नै प्रचार गर्ने, अरूको कुरा काट्ने प्रवृत्ति हाबी हुँदै गयो । हामी एक अर्काबीच नजिक त भयौँ तर सम्बन्धहरू निकै टाढा र फिक्का भए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here