प्रहरी जवान संजिव राईको शव ६ दिनदेखि धरानमा अलपत्र

0
196
क्याप्सन भोजपुरमा मुठभेडमा मारिएका संजिव राई ।

धरान : भोजपुरमा नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपा कार्यकर्ताहरुको मुठभेडमा मारिएका प्रहरी जवान संजिव राईको शव धरानमा अलपत्र परेको छ । सरकारले संजिवको शव उनको घर खोटाङको हलेसी तुवाचुङ नगरपालिका स्थित बाहुनीडाँडामा नलगिदिएपछि ६ दिनदेखि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको मर्चरीमा राखिएको छ । शव नलगिदिएपछि काजक्रिया समेत रोकिएको छ । 

असार २५ गते भोजपुर सदरमुकाम स्थित हटियाको पाँचधारे होटलमा विप्लव कार्यकर्तासंगको मुठभेडमा जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी जवान संजिव राई र विप्लव कार्यकर्ता निरकुमार राईको मृत्यु भएको थियो । घटना पश्चात संजिवको शव पोष्टमार्टमका लागि धरान ल्याइए पनि प्रहरीले आजसम्म शव परिवारको जिम्मा लगाएको छैन। संजिवको शव लिनका लागि उनकी श्रीमती नमुना, भाइ खडिन्द्र राई, बहिनी चन्द्रमाया र दुई नाबालक छोराहरु धरान आएका छन् । 
खराव मौसमका कारण खोटाङ जाने मोटर बाटो अबरुद्ध भएपछि परिवारले सरकारसंग हवाई मार्गबाट संजिवको शव घर पुर्याइदिन अनुरोध गरेको थियो  । ६ दिनदेखि शव सहित परिवारका सदस्य धरानमा अलपत्र परेर बस्नु परेको संजिवका भाइ खडेन्द्रले गुनासो गरेका छन् । 

उनले वृद्ध बाबुआमा र अन्य दाजु भाइ खोटाङमै भएकाले दाजुको शव घरमै लगी अन्तिम संकार गर्ने आमाबुवाको आग्रह रहेको बताए। 

‘दाइको कर्तव्य पालना गर्ने क्रममा निधन भएको हामीलाई थाहा छ तर, सरकारले एउटा कर्तव्यनिष्ट प्रहरीको शव परिवारलाई जिम्मा लगाएर काजक्रिया गर्ने सहज वातावरण नबनाइदिएकोमा हामी अत्यन्तै दुखित छौं’, खडेन्द्रले गुनासो गरे।  
 
छोरासहित धरान आएकी संजिवकी श्रीमती नमुना पतीको मृत्युका कारण भावविह्वल अवस्थामा छिन् । उनी ६ दिनदेखि बोल्न पनि नसकेको मामा देशकुमा राईले बताए । उनले भान्जा संजिवको शव तत्काल खोटाङ पुर्याइदिन र काजक्रिाया गर्ने सहज वातावरण मिलाइदिन सरकारसंग माग गरेका छन् । 

प्रहरी महानिरीक्षक (आईजीपी) सर्बेन्द्र खनालले संजिवको शव उनको घर खोटाङ नपुर्याएको विषयमा आफूलाई जानकारी नभएको बताए । अन्नपूर्ण समाचारदातासंगको कुराकानीपछि मात्र यस विषयमा जानकारी पाएको बताउँदै तत्काल संजिवको शव खोटाङ घर पुर्याउने व्यवस्था मिलाउने खनालले प्रतिबद्धता जनाएका छन् । सुनसरीका प्रहरी प्रमुख यज्ञविनोद पोखरेलले नेपाली सेनाको हेलिकप्टरबाट शव खोटाङ लैजाने तयारी गर्दा खराव मौसमका कारण कठिनाई भएको बताएका छन् । साभार – अन्नपूर्ण पोस्ट

 भोजपुर मुठभेडमा मारिएका प्रहरी जवान संजिव राईकी श्रीमती नमुना र छोराहरु जोयल र जोहन राई । तस्विर : रत्नप्रसाद आचार्य । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here