कुवेत जान लाग्दा भारतको मिजोरमबाट फर्काइएकी कर्णालीकी २० वर्षीया युवतीको कथा

0
41
प्रतीकात्मक तस्बिर

सोह्र वर्षको कलिलो उमेरमा घरेलु कामदारका रूपमा काम गर्न उनी भारतको बाटो हुँदै कुवेत गइन्।

उमेर ढाँटेर नागरिकता तथा पासपोर्ट बनाइन्। केही कमाएर केही वर्षमा घर फर्किइन्। तर जोगाएको कमाइ केही समयमै सकियो। बालबच्चाको शिक्षा तथा पालनपोषणका लागि पुन: विदेश जाने निर्णयमा पुगिन्।

भारतको बाटो हुँदै कुवेत जान लाग्दा केही हप्ताअघि उनी मिजोरममा पक्राउ परिन्। उनीसहित २३ जना महिलालाई नेपाल फिर्ता गरियो।

नेपालले खाडी मुलुकमा आफ्ना नागरिकलाई घरेलु कामदारका रूपमा जान प्रतिबन्ध लगाएको भए पनि मानिसहरू भारत हुँदै जाने क्रम बढेको छ।

कर्णाली प्रदेशको एउटा दलित परिवारमा जन्मेकी यी २० वर्षीया महिला पनि तिनैमध्ये एक हुन्। वैदेशिक रोजगारीमा जान बाध्य एक प्रतिनिधिपात्र हुन्।

उनीसँग बीबीसी संवाददाता उमाकान्त खनालले झापामा गरेको कुराकानीको सम्पादित अंश-

तपाईँ त्यति सानो उमेरमा पहिलो पटक कुवेत कसरी जानुभयो?

त्यो बेला म १६ वर्षकी थिएँ। मैले त्यही बेला नै २० बर्ष पुगिसकेँ भनेर नागरिकता बनाएँ अनि त्यसैको आधारमा पासपोर्ट पनि बनाएर कुवेत गएको हुँ।

कुन बाटो हुँदै जानुभयो?

म भारतको दिल्ली हुँदै कुवेत पुगेको हुँ त्यो बेला।

के बाध्यता थियो त्यति सानो उमेरमा विदेश जान?

मेरा पति पनि कतारमा थिए। उनले चाहेका बेला पैसा पठाइदिएनन्। छोरा सानो थियो। सासूले पनि छोरालाई नचाहिँदो कुरा लगाउँथिन्। घरबाट निकाल्दिन्छु, निक्लेर जा ‘तँ गरिबको छोरी’भन्ने खालका वचन खानुपर्थ्यो।

पहिलो पटक दिल्लीबाट जाँदा समस्या भएन?

त्यस्तो समस्या केही भएन। म दिल्ली गएको पाँच दिनमै उडेकी थिएँ।

तेह्र वर्षको उमेरमा के सोचेर बिहे गर्नुभयो?

सानोमै आमा रहनुभएन। बाबा र दुई दाइहरूले ‘हामी छोरा मान्छे कमाउन जानुपर्छ। कति दिन बाजेबजू तथा फुपूहरूको वचन खाएर बस्छेस्’ भनेपछि मैले बिहे गरेकी हुँ।

तपाईँको छोराछोरी कति जना?

मेरो दुई बच्चा छन्। एक छोरा, एक छोरी।

पहिलो बच्चा जन्मिँदा तपाईंको उमेर कति थियो?

म १४ बर्षको हुँदा छोरा जन्मेको हो।

सोह्र वर्षको उमेरमा कुवेत जानुभयो त्यहाँ केके काम गर्नुपर्थ्यो?

घर सफा गर्थेँ। कपडा धुन्थेँ। दुईवटा बच्चा हेर्थेँ।

दोस्रो पटक तपाईँ जान लाग्नु भएको थियो तर फर्केर आउनुपर्‍यो। अब तपाईँ के गर्नुहुन्छ?

हामी दिल्लीबाट विभिन्न स्थान हुँदै मिजोरम पुग्यौँ। धेरै दुःख पायौँ। नेपाल सरकारले हाम्रो दुःख बुझिदिनुपर्छ। हामीलाई नेपालबाटै श्रम स्वीकृति र पुलिस रिपोर्ट दिने व्यवस्था मिलाइदिनुपर्छ। हामीले हाम्रोभन्दा पनि बच्चाको भविष्य हेर्नुपर्छ। विदेशको कमाइबाट बालबच्चाको पढाइ तथा पालनपोषण गर्नुपर्छ। एउटा घर होस् हाम्रो पनि। अनि सानो पसल गरेर बस्ने योजना छ। बच्चाको बाबुले त छोडेर गयो। तर आमाको जिम्मेवारीबाट त पन्छिन मिलेन नि।

सुरुमा तपाईँले कति कमाएर ल्याउनु भयो?

मैले सुरुमा आठ लाख रुपैयाँ कमाएर ल्याएकी थिएँ। तर त्यो पैसा मेरो पत्थरीको उपचारका खर्च भयो। बुवाको घर बनाइदिएँ। त्यसमा अढाई लाख खर्च भयो। यसपालि चाहिँ विदेश गएर बच्चाहरूको भविष्य बनाउने योजना छ।

नेपालमै चाहिँ किन कमाउने बाटो पाउनुभएन?

नेपालमा त गाउँको काम गर्दा पनि दिनको चार सय रुपैयाँभन्दा हुँदैन। त्यतिले कसरी गरिखानू? हामीलाई चाहेअनुसार रोजगारी दिनुपर्‍यो नि सरकारले।

तपाईँहरू जसरी मिजोरमबाट फर्केर आउनुभयो, त्यहाँबाट कति नेपाली दिदीबहिनीहरू विदेश रहेछन् केही थाहा पाउनुभयो?

हामी त्यहाँ पुग्दा त्यहाँकै पुलिसले भन्दै थिए कि हामीभन्दा अघि झन्डै तीन सय जना विदेश गइसके।

यहाँ आइसकेपछि तपाईँहरूलाई कस्तो व्यवहार भयो?

हामीलाई नेपाल सरकारका प्रतिनिधिहरूले राम्रोसँग सोध्दा पनि सोधेनन्। झन् नेपालमा बर्दी लगाएका पुलिसले अपमान गरे। जे पायो त्यही बोले, हामी कुनै अनैतिक काम गरेर आएकोजस्तो गरे। बरु माइती नेपालमा आएपछि हामी सुरक्षित भयौँ भन्ने अनुभव भयो। साभार – बिबिसी नेपाली

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here