सगरमाथामा ‘ईको फ्रेण्डली’ शौचालय बनाउँदै चीन

0
93

नेपालले अप्रिलदेखि जुनसम्मका लागि ४५ दिने सगरमाथा सफाइ अभियान सुरु गरेको छ। आफ्नो तर्फको सगरमाथाको ७ हजार २८ मिटरको उचाइमा चीनले वातावरण मैत्री शौचालय बनाउने भएको छ।

सिन्ह्वाका अनुसार ७ हजार २८ मिटरको उचाइ शिविर बाहेक ५ हजार २ सय, ५ हजार ८ सय र ६ हजार ५ सय मिटरको शिविरमा पनि शौचालय निर्माण गरिने छ। यी सबै शौचालय वसन्त सिजनको अन्तमा हटाइने छ। अप्रिलको आरम्भदेखि मे महिनाको अन्तसम्मको पर्वतारोहण अवधिलाई वसन्त सिजन भनिन्छ। यसैबीच चीनले केही फोहोर नछाड्ने सिद्धान्तलाई पछ्याउँदै यस पटक पनि वसन्त सिजनको अन्त्यमा सबै फोहोर तथा मानव मलमूत्र हटाउने वाचा गरेको छ।

विभिन्न शिविरमा शौचालयको निर्माणबाट मानव मलमूत्र संकलन गर्न सजिलो हुने भन्दै ७ हजार ५०० मिटरभन्दा माथिको उचाइमा पर्वतारोहीले कम खाने र धेरै ऊर्जाको आवश्यक्ता हुने भएकोले शौचालय आवश्यक नभएको तिब्बत पर्वतारोहण संघका पदाधिकारीले बताएका छन्। यसैबीच नेपालतर्फको सफाइ अभियानमा सगरमाथा क्षेत्रमा वर्षौंदेखि उठाउन नसकिएका शवलाई पनि उठाइने भएको सम्बन्धित निकायले जनाएको छ।


सगरमाथा सफाइमा दुई करोड ३२ लाख

काठमाडौं : सरकारले यही अप्रिलदेखि जुनसम्म ४५ दिने सगरमाथा सफाइ अभियान सुरु गरेको छ। यो अभियानमा सगरमाथाबाट पाँच हजार र सरमाथाआसपासबाट पाँच हजार किलोग्राम फोहोर संकलन हुनेछ।

अभियानका लागि दुई करोड ३२ लाख रुपैयाँ खर्च गर्ने गरी सगरमाथा हिमाल सफाइ अभियान सञ्चालन गरिएको पर्यटन विभागका महानिर्देशक डण्डुराज घिमिरेले बताए। उनले भने, ‘नेपालको पर्वतारोहण पर्यटनको अन्तर्राष्ट्रिय छविलाई सुधार गर्न र यो क्षेत्रलाई स्वच्छ बनाउन सफाइ अभियान सुरु गरिएको हो।’ अभियानमा सरकारले निजी संघसंस्थासँग सहकार्य गरेको छ। यसका लागि सरकारले नेपाल पर्यतारोहण संघ, सगरमाथा प्रदूषण नियन्त्रण समिति, सगरमाथा राष्ट्रिय निकुन्ज मध्यवर्ती क्षेत्र, वन तथा वातावरण मन्त्रालय, नेपाल पर्यटन बोर्ड, खुम्बु पासाङल्यामु गाउँपालिका र नेपाली सेनासँग सहकार्य गरेर सफाइ अभियान सञ्चालन गर्नेछ।

यो अभियानले सगरमाथा क्षेत्रमा रहेको र वर्षौंदेखि उठाउन नसकेका शवलाई पनि उठाइनेछ। सगरमाथाको पाँच हजार मिटर माथि ज्यान गुमाएका आरोहीका शव वर्षौंसम्म उठ्न सकेका छैनन्। सफाइ अभियान १२ औं अन्तर्राष्ट्रिय सगरमाथा दिवसको अवसरमा अप्रिलदेखि जुन महिनासम्म सञ्चालन गरिनेछ। बर्सेनि मनाइँदै आएको अन्तर्राष्ट्रिय सगरमाथा दिवस मे २९ का दिन संकलित फोहोरका साथ नाम्चेमा प्रदर्शन गरिनेछ। त्यसपछि नाम्चेमै फोहोर प्रशोधन गरिने र त्यसपछि बाँकी रहेको ठोस फोहोरलाई मात्रै काठमाडौं ल्याइने छ।(अन्नपुर्णपोस्ट)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here