रेमिट्यान्सको दुरुपयोग

0
286
केही साताअघि मेरा आफन्तले काठमाडौं आई एउटा आइफोन किने । अधबैंसे उनले खासै नपढेकाले प्रविधि प्रयोगमा उनी नयाँ नै हुन् । विदेशमा रहेका दुई भाइ छोराले कमाएर पठाएको पैसाबाट उनले त्यो आइफोन किनेका थिए ‘अलि सस्तो किन्नुभएको भए हुन्थ्यो नि, चलाउन पनि सजिलो हुन्थ्यो । यो फोन चलाउन जान्नुहुन्छ त ? ‘, मेरो जिज्ञासामा उनले जवाफ दिए, ‘कहाँ चलाउन जान्नु, फोन उठाउन मात्र आउँछ ।’ छोराहरूले पठाएको पैसाले पत्नीलाई गहना किन्ने योजना पनि उनले सुनाए । विदेशबाट पठाएको पैसा नयाँ लुगा लगाउन र मनोरञ्जनमै खर्च गर्छन् उनी ।
आजभोलि गाउँघरका अधिकांश युवा कामको खोजीमा बिदेसिएका छन् । उनीहरू दुःख गरेर पनि परिवारलाई महँगा सामान पठाउँछन् । सहरमा भन्दा गाउँका मानिसले महँगा फोन बोक्छन् । रेमिट्यान्सको अधिकांश हिस्सा विलासिताका सामान खरिदमै खर्च हुने गरेको छ । रेमिट्यान्सको झन्डै ८० प्रतिशत दैनिक उपभोग्य वस्तु र मनोरञ्जनमा खर्च हुने गरेको केन्द्रीय तथ्यांक विभागको एक सर्वेक्षणले देखाएको छ । यसको ठूलो हिस्सा बचत र लगानी गरेर त्यसबाट दीर्घकालीन फाइदा लिन सकिन्थ्यो, विडम्बना त्यसो हुन सकेको छैन ।
रेमिट्यान्सले नेपालको अर्थतन्त्र र नेपाली समाजमा महत्त्वपूर्ण भूमिका खेल्छ । नेपालमा अधिकांश परिवार प्रत्यक्ष तथा परोक्ष रूपमा रेमिट्यान्समा आश्रित छन् । माओवादीले गरेको दसबर्से सशस्त्र द्वन्द्वको क्रममा पनि रेमिट्यान्सले देशलाई टेवा पुर्‌याएको थियो । नत्र देशको अर्थतन्त्र नै धराशायी हुन्थ्यो । त्यस्तै भारतले गरेको नाकाबन्दी, मधेस आन्दोलन र विनासकारी भूकम्पको बेलामा पनि रेमिट्यान्सले महत्त्वपूर्ण भूमिका खेल्यो ।
विश्वमै तेस्रो स्थानमा रहेको नेपालको जीडीपीमा रेमिट्यान्सको योगदान २९.२ प्रतिशत पुगेको छ । गत वर्षको ५ महिनामा २.७ प्रतिशतले बढेको रेमिट्यान्स यो वर्ष भने १९.४ प्रतिशतको उच्च दरले बढेको छ । बढी रेमिट्यान्स मलेसिया, कतार, साउदी अरेबियाबाट आउने गरेको छ । वैदेशिक रोजगार विभागको तथ्यांकअनुसार दैनिक लगभग ११ सय नेपाली बिदेसिने गरेका छन् । नेपालमा विद्यमान बेथिति, बेरोजगारका कारण यो क्रम बढ्दो छ । भूकम्प गएको वर्ष रेमिट्यान्स २०.९ प्रतिशतले बढेको थियो जब कि त्योभन्दा अघिल्लो वर्ष रेमिट्यान्स ३.२ प्रतिशतले मात्र बढेको थियो ।
यति ठूलो मात्रामा रेमिट्यान्स भित्रिए पनि यसले न देशको पुँजी निर्माण गर्न सक्यो न त मानिसले यसको दीर्घकालीन र सुनिश्चित भविष्यको लागि सदुपयोग गर्न सके । सरकारले पनि यसलाई व्यवस्थित गर्न सकेको छैन । अझै पनि हुन्डीमार्फत विदेशबाट रकम भित्रिने गरेको छ, जुन सरकारले रोक्न सकेको छैन । नेपाल र भारतबीचको द्विपक्षीय व्यापार ५० प्रतिशत अवैधानिक रहँदै आएको छ । यदि यी सबैलाई व्यवस्थित गरे नेपालले ठूलो फाइदा लिन सक्थ्यो । त्यो पुँजी विभिन्न क्षेत्रमा लगानी गरेर त्यसबाट रोजगार पनि सिर्जना गर्न सकिन्थ्यो ।
एसियामै रेमिट्यान्सले महत्त्वपूर्ण भूमिका खेल्छ । चीन, भारत, फिलिपिन्स रेमिट्यान्स प्राप्त गर्ने देशमध्ये अग्रस्थानमा पर्छन् । विश्व बैंकले गत वर्ष गरेको अध्ययनअनुसार रेमिट्यान्स प्राप्त गर्ने देशमध्ये भारत अग्रणी स्थानमा थियो । एसियाका १० प्रतिशत परिवार रेमिट्यान्समै निर्भर छन् । भारत, चीन र एसियाका अरू देशले रेमिट्यान्स व्यवस्थित गरेर यसबाट दीर्घकालीन फाइदा लिइरहेका छन् तर नेपाल भने त्यसमा असफल देखिन्छ ।
भारत, बंगलादेश र श्रीलंका जस्ता देशले मानिसलाई विदेशबाट पैसा पठाउन प्रोत्साहन गर्ने हेतुले त्यहाँको कानुनी प्रावधान सहज बनाइदिएका छन् । बिदेसिएका व्यक्तिले स्वदेशी तथा विदेशी मुद्रामा बैंक खाता खोल्न पाउँछन् । उनीहरूले विदेशमा बसे पनि स्वदेशमा लगानी गर्न पाउँछन् । रेमिट्यान्स पठाउने सुविधा व्यवस्थित गरेका छन् । श्रीलंकामा वैदेशिक रोजगारबाट फर्केका व्यक्तिको लागि ऋणमा सहुलियतको व्यवस्था गरिएको छ ।
ती देशहरूले बिदेसिएका आफ्ना नागरिकको हितको लागि विभिन्न व्यवस्था गरेका छन् तर नेपालमा यस्तो प्रावधान छैन । यहाँ बिदेसिने हरेक नेपाली विदेशमा असुरक्षित छन् । हरेक दिन बिदेसिएका मनिसका बारेमा अप्रिय सूचना सुन्नुपर्छ । विभिन्न अवैधानिक तरिकाले मानिस विदेश पठाउने क्रम अझै रोकिएको छैन ।
गाउँका अधिकांश युवा बिदेसिएका छन् । विदेशबाट कमाएर पठाएको पैसा तिनका परिवारले मोजमस्ती र मनोरञ्जनमै सक्ने गर्छन् । नयाँ लुगा लगाउने, मीठो खाना खाने, नयाँ फोन बोक्ने गर्दा उनीहरूको जीवन भड्किलो भएको छ ।
रेमिट्यान्सले मानिसको जीवनस्तर त उकासेको छ तर यसले दीर्घकालीन योजना र भविष्य सुनिश्चित गर्न सकेन । मानिसले यसको प्रयोग दैनिकी र मनोरञ्जनमै सीमित राखे । त्यसमाथि विदेशबाट स्वदेश फर्किएकाका लागि पनि सरकारले कुनै ठोस योजना ल्याउन सकेन । मानिसहरू विदेश गएर रगतपसिना बगाएर स्वदेश फर्कन्छन् तर त्यो रकम लगानी गर्ने उचित ठाउँ पाउँदैन । सरकारले पनि यसलाई व्यवस्थित र सहज गर्नेतर्फ खासै ध्यान दिएको पाइँदैन ।
त्यस्तै विदेशबाट पठाएको पैसा पनि बचत गरेर विभिन्न क्षेत्रमा लगानी गर्न सकिन्थ्यो तर त्यसो हुन सकेको छैन । नेपालजस्तो कृषिप्रधान देशमा लगानीको प्रचुर सम्भावना छ । रेमिट्यान्स बचत गरेर कुखुरापालन, भेडाबाख्रापालन, तरकारी खेती आदिमा लगानी गर्न सकिन्छ । यसले कृषि उद्यमशीलतालाई प्रोत्साहन मिल्छ । त्यस्तै विदेशबाट फर्किएकाहरू पनि कृषि उद्यमशीलतामा आबद्ध भएर यसबाट फाइदा लिन सक्छन् ।
कृषि उद्यमशीलताले देशमै रोजगारको प्रचुर सम्भावना प्रदान गर्छ । गाउँमा कृषि उद्यमशीलता प्रवद्र्धन गरेर सहरलाई पनि टेवा पुग्थ्यो । यसले गर्दा देशमै उत्पादनको प्रचुर सम्भावना बन्न सक्थ्यो । यसतर्फ सरकार र सम्बन्धित निकायको ध्यान जानु जरुरी छ । त्यस्तै अरू साना तथा मझौला उद्योग पनि खोल्न सकिन्छ । यसका लागि सरकारले सहजकर्ताको भूमिका खेल्नुपर्‌यो । विदेशमा कमाएर फर्किएकाहरू यहाँ लगानी गर्ने वातावरण नभएर विदेश फर्किनु नपरोस् ।
सरकारले उनीहरूलाई लगानीको लागि सहुलियत दिएर भए पनि लगानीमैत्री वातावरण बनाउनुपर्छ । गाउँका अधिकांश युवा बिदेसिएका छन् । विदेशबाट कमाएर पठाएको पैसा तिनका परिवारले मोजमस्ती र मनोरञ्जनमै सक्ने गर्छन् । कोही दिनभर तास खेल्छन् र कोही जाँडरक्सी खाएर पैसा सिध्याउँछन् । उनीहरूको जीवनस्तर भड्किलो भएको छ । नयाँ लुगा लगाउने, मीठो खाना खाने, नयाँ फोन बोक्ने उनीहरूको सोख भएको छ ।
रेमिट्यान्सको सही प्रयोग गर्न सके गरिबी न्यूनीकरणमा पनि सहयोग पुग्छ । नेपालका अधिकांश युवा अहिले बिदेसिएका छन् । उनीहरूले पठाएका पैसाको उचित उपयोग र सही लगानी गरेर हाम्रा ग्रामीण क्षेत्रलाई आर्थिक हिसाबले मजबुत बनाउन सकिन्छ । एक तथ्यांकअनुसार अविकसित र विकासोन्मुख राष्ट्रहरूमा अबको पाँच वर्षमा रेमिट्यान्स ४० प्रतिशतले बढ्ने देखाएको छ । नेपालमा पनि यो बढ्ने निश्चित छ । त्यसैले सरकारले रेमिट्यान्स व्यवस्थित गर्नुपर्छ । विदेशमा काम गर्न गएकाहरूको हितको लागि पनि सरकारले उचित कदम चाल्नुपर्छ र फर्किएकाहरूको लागि पनि लगानीको वातवरण बनाउनुपर्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here