नेतालाई मात्रै गाली गर्न छाँडौ

0
389
pic - google/arfonline

एउटा अंग्रेजी भनाइ छ, ‘संसार परिवर्तन गर्न हामीले पहिला आफ्नो सोचमा परिवर्तन गर्नुपर्छ ।’ परिवर्तनको मूल संवाहक भनेकै हाम्रो सोच हो । हामीले गर्ने हरेक क्रियाकलाप हाम्रो सोच र नियतले निर्दिष्ट हुन्छन् । हामी खालि नेपालमा विकास भएन भन्छौं, नेतालाई गाली गर्छौं, देशमा व्याप्त भ्रष्टाचार, गरिबीको बारेमा बिलौना गर्छौं । के देश आफैं बन्छ ? देश त हामी सबै एकजुट भएर बनाउने होइन र ?

परिवर्तनको सुरुआत हामी आफैंबाट गरौं । हाम्रा पार्टीका भन्दा पनि राम्रा पार्टीका मान्छे छानौं । हाम्रा मान्छेभन्दा पनि राम्रो मान्छे छानौं । गलत र भ्रष्टाचारी नेतालाई बहिष्कार गरौं । राम्रा नेता र शासनका पक्षमा उभिऔं । बेलाबेलामा उनीहरूलाई सचेत गराऔं, घच्घचाऔं, अनि परिवर्तनको सुरुआत कसरी हुँदैन ? तर हैन हामीमध्ये त्यसरी सोच्ने विरलै छौं ।

आफ्नो घरअगाडिको गोरेटो बाटो बिग्रेको छ भने पनि हामी सरकारकै मुख ताकेर बस्छौं, जबकि त्यो मर्मत गर्न थोरै लगानीमा पनि सम्भव हुन्छ । अनि सरकारलाई गाली गर्छौं, नेतालाई गाली गर्छौं । हामीलाई थाहा हुन्छ, यो नेता खराब छ भनेर, तर पनि हामी त्यही नेतालाई चुनावमा जिताउँछौं । के त्यो हाम्रो गल्ती होइन ? देश विकास भएन, अब यो सधैं यस्तै हो, भन्दै हामी विदेशतिर जान्छौं ।

त्यहाँ निम्नस्तरको काम गर्न पनि पछि पर्दैनौं, त्यही काम यहाँ गर्न हामीलाई लाज लाग्छ । त्यही काम यहाँ गरे, यहाँ पनि राम्रो आम्दानी गर्न सक्छौं । त्यो सबै हाम्रो सोचको उपज हो । यहाँ आफूले खाएको भाँडा माझ्न पनि हामीलाई लाज लाग्छ, तर विदेशमा अरूको भाँडा माझ्न पनि हामी पछि पर्दैनौं ।

हामी समस्यामा बढी केन्द्रित भयौं । यो भएन, त्यो भएन भन्दै बिलौना गर्दै हाम्रो समय बित्यो । कसरी राम्रो गर्नेभन्दा पनि यो काम नराम्रो भयो भन्दै आलोचना गर्दै समय व्यतित भयो हाम्रो । समाधान नै खोजेनौं । राम्रो काम गर्नेको खुट्टा तान्ने प्रवृत्ति भयो । खालि देश विकास भएन, नेता नै खत्तम भए भन्नेमै हामी केन्द्रित भयौं । यसलाई कसरी विकास गर्ने भन्नेतिर सोच्दै सोचेनौं ।

देशलाई यही हालतमा छोडेर विदेश पलायन भएर देश बन्छ ? यसलाई त सबै मिली बनाउनुपर्छ । विकास र विनाश हाम्रै सोचमा भर पर्छ । आफ्नो क्षमताले देशमै केही गरे देश विकासमा मद्दत पुग्थ्यो । तर हामी सबैले आफ्नै लागि मात्र सोच्यौं र नेता आफू कसरी सम्पन्न हुने भन्नेतिर मात्र लागे अनि जनताको हितको लागि सिन्कोसमेत भाँच्न सकेनन् ।

देश विकासमा मात्र होइन, समाजमा व्याप्त कुरीति, विसंगति मौलाउनुमा पनि हाम्रो सोचको ठूलो योगदान छ । समाज सोचेअनुरूप परिवर्तन हुन नसक्नुको पछाडि हाम्रो सोच नै प्रमुख बाधक छ । हाम्रो समाजमा छोरीलाई पढाउन पैसा हुँदैन, तर उसको बिहेको लागि खर्च गर्न जति पनि पैसा खर्च गर्ने प्रशस्त भेटिन्छन् । त्यस्तै हाम्रो समाज अहिले ब्रान्डेड भएको छ, हरेक वस्तु ब्रान्डेड चाहिन्छ । हामी एसी भएको कोठामा राखेको जुत्ता लगाउँछौं र तरकारी भने बाहिर खुला हावामा राखेको किन्न पनि हिच्किचाउँदैनौं ।

देश आफैं बन्दैन । हामी सबै मिलेर बनाउने हो । त्यसको लागि पहिला हाम्रो नियत र सोचमा परिवर्तन आउनु जरुरी छ ।

त्यस्तै सुन्धाराको सडक किनारामा खुला ठाउँमा राखेको सस्तो कपडा किन्दैनौं, तर त्यही सामान अलि महँगो दरमा महलमा ब्रान्डेड भन्यो भने हामी जति पनि पैसा हाल्छौं । मेरा एकजना मित्र थिए, उनलाई हरेक वस्तु ब्रान्डेड चाहिने, जहिले पनि लुगा, जुत्ता शेर्पा मलजस्ता महँगा महलबाट किन्ने र खान पनि केएफसी नै जानुपर्ने । हामीले कहिलेकाहीं सुन्धाराको खुला ठाउँमा सामान किन्यौं र साना रेस्टुराँमा खान खान गयौं भने होच्याउनुपर्ने । तर उनलाई के थाहा त्यस्तो सस्तो र स्वादिष्ट ठाउँमा खानुको मज्जा नै छुट्टै हुन्छ भनेर । यो सब हाम्रो सोचको कारणले भएको हो । त्यसैले हाम्रो सोचमा परिवर्तन आउनु जरुरी छ ।

सामाजिक सञ्जालमा एउटा पोस्ट लेखिएको थियो, ‘हामी विभिन्न धर्मको नाममा लड्छौं, गीता, कुरानको नाममा लड्छौं तर यहाँ अधिकांशले ती किताब पढेका हुँदैनौं र ती किताबमा के लेखिएको छ थाहा पनि हुँदैन ।’ वास्तवमा अहिले धर्मको नाममा विभिन्न आतंककारी समूहले आतंक मच्चाइरहेका छन्, तर ती अधिकांशलाई त्यो धर्मको अन्तर्वस्तु र मूल मर्मबारे जानकारी नै हुँदैन । त्यस्तै हाम्रो समाजमा बाहिर खुलारूपमा पिसाब फेर्दा केही हुँदैन, तर दुइटा जोडीसँग हात समाउँदा वा चुम्बन गर्दा कुरा काट्ने धेरै हुन्छन् ।

त्यस्तै हाम्रो समाज बढी देखावटीपनमा विश्वास गर्ने र मानिसमा दम्भ बढेको छ । हेपाह प्रवृत्ति बढेको छ र आफूभन्दा तल्लो स्तरको काम गर्ने व्यक्तिलाई हेपेर बोल्ने मानिसको पनि कमी छैन । खाली सिसी उठाउन हिँडेको व्यक्तिलाई ‘ए खाली सिसी’ भन्ने, माइक्रोमा पैसा उठाउनेलाई ‘ए खले’ भन्ने मानिस धेरै भेटिन्छन् । यहाँ कामको इज्जत छैन, त्यसैले त मानिस बिदेसिएका छन्, सानै काम भए पनि त्यहाँ त हेपिनु पर्दैन । बरु भाँडा माझ्ने काम किन नहोस्, त्यहाँ अपहेलित त हुनु पर्दैन । यहाँ प्रोत्साहन दिनेभन्दा पनि खुट्टा तान्ने र कुरा काट्ने धेरै हुन्छन् ।

नेताहरू बत्ती बलेको गाडीमा चड्न पाए मै हुँ भन्ठान्छन् र अरूलाई मान्छे गन्दैनन् । त्यस्तै कालो सिसा लगाएर पिच्चपिच्च झ्यालबाट थुक्ने र अरूलाई देखाउने मानिसको कमी छैन । उनीहरूलाई गाडी चढेमा ठूलो भएँ भन्ठान्छन् । मेरो कार्यालयमा एकजना ब्रिटिस नागरिक छन्, उनको आफ्नै महँगो कार छ तर उनी प्रायः कार्यालय आउँदा हिँडेर वा साइकल प्रयोग गर्छन् ।

उनी भन्छन्, ‘यसरी खुला हावा खाएर अफिस आउनुको मज्जै बेग्लै छ ।’ मैले हालै एउटा भिडियो हेरेको थिएँ, जसमा अमेरिकाका राष्ट्रपति हुँदा बाराक ओबामाले एउटा सैनिकको सलुटको उत्तर दिन बिर्सेकाले प्लेनमा चढिसकेको मान्छे पनि फर्केर आएर सोलुट गरे । सायद त्यस्तो यहाँ नेपाली नेतामा बिरलै देख्न पाइन्छ । यहाँ पानी पर्दा छाता ओडाउने मान्छे राख्छन् ।

यहाँ राजनीतिले मानिसलाई विभाजित गरेको छ । पहिले हाम्रो सोचमा परिवर्तन ल्याऊ । देश आफैं बन्दैन । हामी सबै मिलेर बनाउने हो । त्यसको लागि पहिला हाम्रो नियत र सोचमा परिवर्तन आउनु जरुरी छ । सोच बदलौं, परिवर्तन र विकास असम्भव छैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here