प्रेम गर्न आउँदैन ? त्यसोभए पद्नुस् ‘प्रेमालय’

    0
    183

    सन् १९२० को दशकपश्चात प्रथमबार स्पष्टत: किशोर-वयस्कलाई एक भिन्न पुस्ताका रूपमा सोच-पुस्तकाकार गर्ने काम भयो । किशोर-वयस्कलाई एउटा छुट्टै समूहका रूपमा परिचय ओकल्ने, ‘बुक्स फर चिल्ड्रेन‘ (चौध वर्षभन्दा मुनिका लागि) र ‘बुक्स फर योङ पर्सन्स‘ (चौध र एक्काइस वर्ष बीचका लागि) भनेर परिभाषा खोतल्ने एक प्रारम्भिक लेखक सारा ट्रीमरको सन् १८०२ मा चौधदेखि एक्काइस वर्षसम्मको उमेरलाई किशोर-वयवस्था भनेर बयान छ ।

    केही स्रोतका दाबीअनुसार, बाह्रदेखि अठार वर्षीय उमेरलक्षित किशोर-वयस्क आख्यान हुन्छ । किशोर-वयस्कका लेखक एवं पाठकहरू भने पन्ध्रदेखि बीस बर्षको प्रारम्भिक उमेरलाई यसको भूगोलको रूपमा ग्रहण गर्दछन् । किशोर-वयस्क आख्यान युवाका विशेष समस्या एवं चुनौतीमा केन्द्रीकृत हुने भएकाले कहिलेकाहीँ यसलाई समस्यामूलक आख्यान अथवा पूर्व-वयस्क आख्यानको रूपमा ठहर गरिन्छ, भर परिन्छ ।

    उन्नाइसौं शताब्दीका प्रारम्भिक आकर्षक एवं आक्रामक किशोर-वयस्क साहित्यमा लुइस क्यारोलको एलिस इन वन्डरल्यान्ड(१८६५), रुडयार्ड किप्लिङको  जङ्गल बुक (१८९४), चार्ल्स डिकेन्सका ‘ओलिभर ट्वीस्ट‘ (१८३८), ‘ग्रेट एक्सपेक्टेसन्स‘ (१८६०), मार्क ट्वेनका ‘एडभेन्चर्स अफ टम सायर‘ (१८६०), ‘एडभेन्चर्स अफ हकलबेरी फिन‘ (१८८४), रोबर्ट लुइस स्टेभेन्सनको ‘किडन्याप्ड (१८८६) आदिका नाम लामबद्ध, आबद्ध गर्न सकिन्छ । बीसौं शताब्दीको सन् १९५० को दशकमा दुई सर्वोत्कृष्ट वयस्क आख्यानको आगमन भयो, ‘ क्याचर इन राइ (१९५१), र ‘लर्ड अफ फ्लाइज‘ (१९५४) ।

    विशेषतः एस.इ. हिन्टनको  आउटसाइडर्स (१९६७) को प्रकाशनपश्चात किशोर-वयस्क आख्यानको वर्गीकरणको थालनी सन् १९५० र १९६० को दशकवरिपरि भयो । वयस्क आख्यानमा जस्तो अतीतदंशको ध्वनिको अंश ‘ आउटसाइडर्स‘ले गुमाएको वंश हो, जुनले वयस्क शब्दावलीको साथसँग पनि भङ्ग गर्दछ । हाइस्कूलको सेरोफेरोको घेरोको एस.इ. हिन्टनले सिर्जना गरेको र सत्र वर्षको उमेरमा प्रकाशन भएको उक्त उपन्यास किशोर-वयवस्थाको अन्धकार पाटोमाथि साहित्यले चालेको त्यतिबेलासम्मको रोबर्ट फर्स्टले भनेजस्तो ‘जङ्गलको बेचल्तीको बाटो’ हो ।

    —२—

    नेपाली साहित्यमा दुई किसिमका साहित्यलाई मात्रै ‘ॐ नम: शिवाय’ गरिएको छ । एउटा बालबालिकाका लागि सिर्जित सरल-सरस बालसाहित्य, र अर्को भावगम्भीर प्रौढसाहित्य । नेपाली साहित्यमा किशोर-वयस्क साहित्य चाहिँ कहाँ छ ? प्रत्येक मानिसको जीवनमा किशोरावस्थाको आगमन हुन्छ, प्रौढअवस्था र बाल्यावस्थाको सेतु; जुन अवस्थामा ऊ आफूलाई न बाल्यकालमा लैजान सक्छ, न आफूलाई वयस्कहरूसँग सम्पूर्ण समायोजन गर्न सक्छ । किशोर-वयस्क साहित्य नेपाली साहित्यमा कति सिर्जना गरिए ? सिर्जना गरिएका भए के ती साँच्चीकै किशोर-वयस्क साहित्य नै थिए ? साहित्य भनेको बालसाहित्य मात्रै हुन्छ ? गम्भीर प्रौढसाहित्य मात्रै हुन्छ ? किशोर-वयस्क साहित्य चाहिँ हुन्छ कि हुँदैन ? हुन्छ भने कस्तो हुन्छ ? हुन्छ भने, बालसाहित्यको सरलता, सरसता र प्रौढसाहित्यको वैचारिकता, गम्भीरताको अर्थपूर्ण सम्मिश्रण होला कि नहोला !

    नेपाली साहित्यमा बालसाहित्य र वयस्क साहित्यका बीचमा किशोर-वयस्क साहित्य बेवास्ताको आखेट हुनुमा यो सम्बन्धी लेखकहरू नै बढ्ता जिम्मेवार छन् । कुनै जमाना युधीर थापा बिकाउ थिए, तर उनी टिकाउ भएनन् । अश्विनी कोइराला सुबिन भट्टराईको ‘समर लभ’को आगमनपछि नेपाली साहित्यको ‘ट्रेन्ड-चेन्ज’ भयो भन्छन् । तर, खसोखास कुरा, सुबिन भट्टराई एक हदसम्म आधुनिक युधीर थापा हुन् ।

    नेपाली किशोर-वयस्क साहित्यमा थाहा पाएकै थापाको हिरासतमा भट्टराईको विरासत छ, फलस्वरूप ‘प्रोफेसन’ छ, ‘पर्फेक्सन’ छैन; नतिजास्वरूप ‘प्रोफेसर’ छ, विद्यार्थीमा त्यसको कुनै असर छैन, आदर छैन । उता पश्चिममा सन् १९६० को दशकमा नै तीस वर्षभन्दा मुनिको पुस्ता राज्य र जनताद्वारा समग्र ध्यानाकर्षण हुन थाले । सन् १९७० र १९८० को दशकको मध्यान्तर किशोर-वयस्क साहित्यको सुनौलो युग मानिन्छ । हाम्रो साहित्यमा त्यसको कुनै खोजखबर छैन । दूध खानलाई गाई छैन, घर पोत्नलाई गोबर छैन । अनि हामी भन्न थाल्छौं, बजारमा दूध किनेर पिउन पाइएकै छ, गाई किन पाल्नुपर्यो ? र, नतिजा प्रकाशन हुन्छ, हामी र हाम्रो साहित्य प्राङ्गारिक होइन, रासायनिक हुन्छ; निर्यात होइन, हास्यास्पद तवरले आयात हुन्छ ।

    चेतन भगतका ‘फाइभ प्वाइन्ट समवनटु स्टेट्स आदि पुस्तक र सुबिनका पुस्तकहरू सँगै पढौँ । के छ नयाँ ? केटाकेटी ‘नलेज’का खातिर कलेजमा भेट हुन्छन् । दुई भिन्न राज्य अथवा दुई भिन्न जातका हुन्छन् । ‘फर्केर आउनेछैन, म कुनै ऋतु हैन’ किसिमको ‘रोमान्स’ गर्छन् । केही फिल्मी डायलग । केही ‘सेक्सिलो’ व्याख्या । जसको प्रमाण, ‘फाइभ प्वाइन्ट समवन’मा आधारित रहेर राजकुमार हिरानी निर्देशित बलिउड फिल्म ‘थ्री इडियट्स’ बन्यो, फिल्मभन्दा पुस्तक झुर लाग्ने भइदियो । ‘टु स्टेट्स’, ‘हाफ गर्लफ्रेन्ड’माथि पनि फिल्म निर्माण गरिएको छ । ‘समर लभ’को चलचित्र बन्ने तयारीमा छ । हैन, अचेलका सुविन प्रकारका लेखक फिल्मको स्क्रिप्ट लेख्छन्, कि साहित्य ?

    ‘मैले मेरा पुस्तक किशोर-वयस्कहरूका निम्ति सिर्जना गरेको हुँ ।’ भन्न त उनीहरू भन्छन् । त्यसो भए, किशोर-वयस्क साहित्य भनेको सिनेम्याटिक डायलग र बेड-रोमान्ससहितको टीनेज पुस्ताको ‘आउट अफ सिजन लभ’ को वर्णन मात्रै हो ? हो भने, कागजको सत्यानाश किन पारिरहेको ? युधीर थापाका ‘झरनाको मीठो पानी’, ‘सिस्टर निर्मला’, प्रकाश कोविदको ‘प्रेमपत्र’, ‘शीला’, सुभाष घिसिङको ‘नीलो चोली’ इत्यादि पुन: प्रकाशन किन नगर्ने ? उनीहरूको सम्मान पनि हुने ! परदेशी शैली अनुकरण गर्नु पनि नपर्ने ! ‘हामीले यतिबेलाको समाज, संस्कृति र प्रविधिका कुरा हाम्रो लेखनमा गरिरहेका हुन्छौं ।’ भनेपनि सारमा उनीहरूले लेखेको पनि त्यस्तै हो, जुन बेवास्ता गरिए । ‘म सरल लेख्छु ।’ उनीहरू फलाकिरहन्छन् । के किशोर-वयस्क सरल नै खोज्छ ? हुन्छ ? गम्भीर खोज्दैन ? युवा गम्भीर हुँदैन ?

    हाम्रो किशोर-वयस्क साहित्यले सन् १९८० को दशकमै पश्चिम समर्पण भइसकेको, पश्चिमले समर्थन गरिसकेको ‘सेक्स विथआउट परमिसन: बलात्कार’, सुसाइड र मर्डरजस्तो गहन विषयवस्तु ग्रहण किन नगर्ने ? ‘द क्रोनिकल्स अफ नरनिया’ जस्तो किशोर-वयस्क साहित्यकै एक ‘फ्यान्टासी’ अङ्ग किन आलिङ्गन गर्न असमर्थ हुने ? सन् १९९७ मा सर्वप्रथम प्रकाशित ह्यारी पोर्टर शृङ्खलाको प्रथम भाग ‘ह्यारी पोर्टर एण्ड द फिलोसफर्स स्टोन’को सर्वस्वसहित विश्वजनीन अन्दाजजस्तो आजाद किन नहुने ? ‘फिरफिरे‘ र खालिद हुसेनीको  काइट रनर‘ एकसाथ पढ्दा नेपाली पाठकको केही हदसम्म हालत खराब भइजान्छ । हरिवंश आचार्यको ‘चिना हराएको मान्छे’ र न्यौपानेकै ‘करौडौँ कस्तुरी‘ पढ्दा कुरीकुरी कुरीति होइजान्छ ।

    कथाकी पात्रका सुबिन भट्टराईका तीन उपन्यास ‘समर लभ, ‘साया र ‘मनसुन‘को  ह्याङओभर हो, पर्पला । ‘समर लभ’मा अतीतले स्वदृष्टिकोणबाट कथा भन्छ । ‘साया‘मा स्वयं ‘साया’ले स्वदृष्टिकोणबाट कथावाचन गर्छे । सुबिनका दुई पुस्तकाकार लहरमा अटाए ती कुरा । जब कि ‘च्याट गर्ल’का मिलन संग्रौलाले आफ्नो एउटै पुस्तक ‘पर्पला’मा अटाइदिएका छन् । पहिला पर्पलाको कथा । त्यसपछि बबिनको कथा । बोनसमा, दिव्यको । किनकि, टीनेजको त्रिकोणात्मक ‘आउट अभ सिजन लभ’को कोरा एवं सपाट वर्णन और चित्रण । ‘एकादेशमा एउटा स्याल थियो । स्यालको नाकमा दुइटा प्वाल थियो ।’ त्यो स्याल ‘पर्पला’ हो । स्यालको नाकको दुइटा प्वाल ‘दिव्य भर्सेस बबिन’ हो । ‘उसले (दिव्यले) चाह्यो, मैले चाहिनँ । उसलाई (बबिनलाई) चाहेँ तर पाइनँ !’ पर्पला भन्छे । दिव्यको एकोहोरो प्रेम । पर्पलाबाट बारम्बार बेवास्ताको सिकार । ‘बिचरा ! आखिर एक हातले के ताली बज्थ्यो ? हुन त आफ्नै गालामा हाने बज्न सक्छ आत्मघाती ताली । जुन तालीले मानिसलाई आफ्नो सही धरातल सम्झाइदिन्छ … ‘ (पेज ७७) । बबिन र पर्पलाको ‘प्लस टु कलेजीय’ प्रेमको सुरूवात । ‘उता यो जोडी (आयुष्मा र सुरज) को यस्तो लिला’थ्यो । यता हाम्रो जोडीको जिउमा किला’थ्यो । । मानौँ, त्यो नउखेलिएसम्म भेट सम्भव छैन हाम्रो’ (पेज ४४) । ‘ब्रेकअपको पासोमा झुन्डिएर आत्महत्या गर्यो; उनीहरूको प्रेमले’ (पेज १३३) । प्लस पर्पलाकी दिदी रिदिमाको आफ्नै घरमा पत्रिका छाड्न आउने हकरसँगको लभ-चक्कर र पारिवारिक लकर । पर्पला जोडीबीच एक्सिडेन्ट । उसको वान-साइडेड लभर दिव्यको आगमन । तर पख्नुस्, कथा अभी बाँकी है । अन्तिममा, न पर्पला बबिनको, न दिव्यको । जबर्जस्ती घुसाइएको नारीवाद ?

    —३—

    उनी’, ‘जुकरबर्ग क्याफे‘का अश्विनी कोइरालाको प्रेमालय‘ एक किशोर-वयस्क आख्यान हो । प्रेमालय प्रमुख किशोर-पात्र ‘सहज’को स्नातक-जीवनदेखिको असहज प्रेम ‘गुराँस’ प्राप्तिको चुनौतीको ‘साबिती-बयान’ हो ।

    मणिरत्नम निर्देशित ‘गडफादर’ उत्प्रेरित, कमल हसन अभिनीत तामिल चलचित्र ‘वेलु नायकन’ मा दुई हरफ गीत यस्तो छ: ‘अथाह गहिरो छ समुद्र, त्यसको एक लहरमै नहुनू समाप्त ।’ किशोर-वयस्क आख्यानको सागरको एक लहर सुबिन भट्टराईकै पछिल्लो कडी, भनौं डेडबडी हो, प्रेमगृह प्रेमालय‘ । एउटा धनाढ्यको लासले रूपैयाँको माला पहिरिएको देखेपछि एउटा गरिबलाई मर्न मन लागेछ । २५ जनवरी, १२ माघमा सहजलाई उसको जन्मदिनको गुराँसको शुभकामना बहुप्रतीक्षित छ । उसलाई आख्यानकारले पेज नम्बर छदेखि धेरै स्थानमा ‘मम्माज ब्वाइ’ को संज्ञा दिएका छन्, त्यो गलत छ । ‘मम्माज ब्वाइ’को अवधारणा डी.एच. लरेन्सको ‘सन्स एण्ड लभर्स‘बाट आएको हो, जुन व्यापक छ । कोइरालाले ‘प्रेमालय’मा त्रुटिपूर्ण किसिमले सहजकी सहजकर्ता आमाले उसलाई प्रदान गरेको स्वतन्त्रतासँग त्यो जोड हुँदैन ।

    सहज गुराँसलाई चाहन्छ । गुराँस ऋषभलाई चाहन्छे । गुराँस भन्छे, ‘खासमा मलाई सहजसँग जीवन बिताउने मन छ । तर, ऊसँग खुलेर सेक्सुअल सम्बन्ध राख्न सक्छु जस्तो लाग्दैन । खासमा म हजुरको सन्तान जन्माउन चाहन्छु तर जीवन ऊसँग खुला आकाशमुनि जीवन बिताउन चाहन्छु ।’ (पेज २८२) हास्यास्पद कुरोको चुरो विमानघाट अवतरण हुन्छ, हासिल हुन्छ । सहजको जन्मदिनमा गुराँसले उसलाई ‘प्रेमालय’मा लिएर गएपश्चात उपन्यासको ढोका उघ्रन्छ । किशोर-वयस्क आख्यानको पठन, अध्ययनले एउटा किशोर-वयस्कलाई उसको/ उनको अनुभवलाई वैद्यता दिनुमा सहायतामा प्रयत्नशील हुन्छ र त्यसबाट केही अर्थ निर्माण हुनुपर्छ । ‘प्रेमालय’ यस मानेमा चुकेको छ भन्दा क्षति हुँदैन ।

    संसारभर १३२८ विषय अध्ययन-अध्यापन हुन्छन् तर प्रेमको विषय पढाइ हुँदैन । बर्लिन इन्स्टिच्युट अफ लभले ‘फिलोसोफी अफ लभ’ अध्ययन-अध्यापन गराइरहेको छ । अर्को पनि छ, एकेडेमी अफ द लभ अफ लर्निङ । आख्यानको भाषा के होइन, कसरी हो, कस्तो हो । किशोर-वयस्क आख्यान सिर्जना गर्न सर्जकको मानस उमेर र रूचि किशोर-वयवस्थाकै हुनुपर्छ । कोइरालाको लेखकीय विचार जबर्जस्ती पात्रहरूमाथि थोपर्ने काम गरिएको स्पष्ट देखा पर्दछ । किशोर-वयस्क सहज र गुराँसको गतिलो चित्रण ऋषभको समूहको प्रेमालयको लयहीन दर्शनको छायामा पर्दछ । ऋषभ समूह आख्यानकारको ‘माउथपिस’ हो, फलस्वरूप उपन्यास ‘सिम्टोम्याटिक’ बन्न पुगेको छ र आख्यान पढेजस्तो भान हुँदैन । ‘रोममा भएको त्यो (स्पार्टकस) विद्रोह खासमा प्रेमले नै जन्माएको थियो ।’ (पेज ९६) आख्यानकारले यसो भनिरहँदा लाग्छ, उनले हावर्ड फस्टको ‘स्पार्टकस’को अध्ययन राम्रोसँग गरेका छैनन् । उनी जेनीसँगको प्रेमको उत्पादन नै कार्ल मार्क्सको विद्रोह देख्छन् । तर, उनलाई थाहा छैन क्यारे, लेखनमा आइडियासँगसँगै डिटेलको जरुरत पर्दछ । यहाँ तर्कतर्फ सर्त पनि चाहिन्छ । जस्तो, सरूभक्तको ‘पागल बस्ती’ प्रेमविषयक दमदार सिर्जना छ । भगवतीचरण वर्माको ‘चित्रलेखा’ छ ।

    ‘सहज भाइ, तिमीलाई लागेको होला प्रेमकथा सुनाउँछु भनेर मैले मेरा बाको कथा सुनाएँ । तर, मलाई नचिनी, मेरो पृष्ठभूमि नबुझी, मेरो प्रेम पनि त बुझिँदैन नि, हैन ?’ (पेज १९६) पञ्चायत कालको गाइने बाउको छोरो गजमेर भन्छ । जसको मन्त्रीको छोरी पारूसित विवाह हुन्छ । काठमाडौंमा जन्त । हामी पञ्चायतकालीन अवस्थाबाट बेखबर छैनौं । यस्तो हावादारी पृष्ठभूमिबाट दलितको प्रेमकथाको प्रतिनिधित्व हुन सक्दैन । तर, जे होस्, गजमेरको प्रेमकथा विवाहबाट सुरु हुन्छ । आफ्नो वैवाहिक जीवनबाट असन्तुष्ट गजमेर साथी शैलेशको माध्यमबाट समाज परिवर्तन केन्द्रमा पुग्छ र त्यहाँ उपस्थित वासन्तीको मायामोहको धागोमा बाँधिन्छ । ‘प्रेमिकाको प्रेम पनि दुईथरी हुन्छ, सेक्ससहित र सेक्सरहित । तपाईं मलाई कस्ती प्रेमिका बनाउन चाहनुहुन्छ ?’ वासन्ती भन्छे । वासन्ती गजमेरलाई प्रेम नगरेरै सेक्स गर्छे र उसको बच्चा जन्माउँछे तर प्रेम भने मञ्जुललाई गर्छे । कस्तो अजिबोगरिब चित्रण छ ।

    किशोर-वयस्क आख्यानको विषयवस्तु वयस्कसँगको सम्बन्ध, बिरामी र मृत्यु, विपरीत लिङ्गीप्रति रूचि, मित्रता, साथीसमूहको दबाब ‘प्रेमालय’मा प्राप्त गर्न सकिन्छ । ‘केटा हो, जिन्दगीमा प्रगति गर्न पनि केटीलाई प्रपोज हान्नुपर्छ । सफल भयो भने लभ हुन्छ, स्साला, लफडा भयो भने जिन्दगी बन्छ ।’ साथीसमूहको दबाबमा गुराँसलाई प्रपोज गरेपछि साकारको डायलग हो यो । किशोर-आख्यानको भाषा र मूलकथा यसका पाठकहरूले रियालिटीमा, टेलिभिजनमा, चलचित्रमा, र पपुलर कल्चरमा भेटाउने जस्तो हुनुपर्छ । साहित्यको गुण त छँदैछ । सफल लेखक र लेखनीसँग चिनारी गराउँछ, जस्तो गुराँस र सहज नगरकोटीसँग परिचित हुन्छन् । तर, आख्यानकार कहाँ नराम्रोसँग उछिट्टिन्छन् भने, बिना कुनै पृष्ठभूमि, निराजन र लुरी राधाले समकालीन आधुनिक नगरकोटी चिनाइदिनुपर्ने गुराँस आख्यानको एक स्थानमा मेलवादेवीको शास्त्रीय ‘सवारी मेरो रेलैमा’ गाइरहेकी देखिन्छे । पात्रमाथि सर्जक हावी भएको यो एउटा उदाहरण हो । उक्त गीत गाउनुसँग गुराँसको संज्ञानात्मक दायरा देखा पर्दैन ।

    किशोर-वयस्क आख्यानको विषयवस्तु विश्वव्यापी हुन्छ, जस्तो सांस्कृतिक, सामाजिक, र लैङ्गिक विविधता, साथसाथै वातावरणीय र राजनीतिक सवालहरू जुन वयस्कसँग सरोकार राख्दछन् । यो धेरै परिपक्व र वयस्क विषयवस्तुसँग जम्काभेट र संघर्षरत हुन्छ । किनकि, किशोर-वयस्क आख्यान साहित्यिक विधा होइन, साहित्यिक श्रेणी अथवा वर्गमात्रै हो । यो साहित्यिक विधा विज्ञान उपन्यास, ऐतिहासिक उपन्यास आदिको सम्मिश्रण हुन सक्छ । मानवीय संवेदनालाई उजागर गर्छ । जीवनका वास्तविकतालाई चित्रण गर्छ । यो विरोधाभासभन्दा अनिवार्यतामा बढ्ता केन्द्रित हुन्छ । सामाजिक संस्थाका प्रकार्यको चित्रण गर्दछ । पाठकलाई ‘फ्यान्टास्टिक ग्राउन्ड’मा विचरण गर्ने अनुमति दिन्छ । साक्षरता र साहित्य विश्लेषण क्षमतामा वृद्धि गर्दछ । पात्र उमेर र रूचिका हिसाबले पाठकको समीप खडा हुन्छन् । कथा सम्भव भएसम्म वास्तविक बनाइन्छ, देखाइन्छ, चाहे यो ‘फ्यान्टासी’ होस् अथवा विज्ञान उपन्यास । चराको पनि जरा होला, आकाशमा उडिरहला, तर बास बस्न गुँडमै फर्कन्छ । द्वन्द्व र साहसिक यात्राको भरपूर समावेश हुन्छ । सञ्जीवनी सन्देशको प्राप्ति हुन्छ । यी सबै उद्देश्यबाट ‘प्रेमालय’ अलिक पर नै छ । यहाँ कृतिको व्यावसायिक सफलताको मात्रै कुरा गर्न खोजिएको छैन । किनकि, किशोर-वयस्क आख्यान किशोर-वयस्कहरूलाई पुस्तक बिक्रीवितरण गर्नका निम्ति मात्रै होइनन् । बरू किशोर-वयस्क आख्यान भनेका सिर्जना गरिएका त्यस्ता पुस्तकहरू हुन्, जुनमा तिनीहरू वाचन गरिएका हुन्छन्, भन्नुको माने, तिनीहरूको समस्यालाई सम्बोधन गरिन्छन् । सुबिन भट्टराई, मिलन सङ्ग्रौलाको लहरमा अश्विनी कोइरालालाई देख्दा भन्ने मन हुन्छ, ‘एकजना मानिस स्वर्गमा गएर आफन्त खोज्न थालेछ । एकछिनपछि पत्तो पाएछ, सबै आफन्तहरू त नर्कमा पो रहेछन् ।’ सरोनर समालोचकमा

     

     

    LEAVE A REPLY

    Please enter your comment!
    Please enter your name here