नथियाको अपुरो शिक्षा

    0
    241

    उपन्यासकार सरस्वती प्रतीक्षाको उपन्यास नथियाकतारमा आइपुग्यो । फुरिरहेका कविताहरू पनि नलेखी, प्रवासमा कामबाट फर्केर खाना पनि नपकाई समय मिलाई मिलाई पढेँ । आधा पढेर बीचमा घोप्टो पारेर राखेका पुस्तक पनि सिरानीमै छन् । तर समय नथियामा खर्चिएँ ।

    बसेर पढेँ । पुस्तकमा घटनाहरू अति नै मिहिन तरिकाले पस्किइएका छन् । प्रस्तुतीकरणले अन्त्यसम्म नै तानिरहन्छ ।

    सबैभन्दा मन पर्ने पक्ष पात्रहरूको आगमन र बहिर्गमन हो । यो पक्ष बहुतै प्रशंसनीय छ किनकि नेपाली आख्यान होस् चाहे नेपाली चलचित्र, पात्रहरू आकाशमा चट्याङ परेझैँ झुल्क्छिन् र हराउँछन् ।

    नथिया खोल्नेदेखि दिवाकरलाई बोलाएर गुमनाम हुँदासम्म करिब पन्ध्र वर्ष दुखित, पीडित र दार्शनिक जीवन व्यतीत गरेकी सामलीले एकाएक एक महिनामा सबै थोक परिवर्तन गर्न सकी घर परिवारको लागि । उसका जीवन भोगाइहरू सम्झिँदा काँडा उम्रिन्छ, यस्तो पनि छ है भनेर जिब्रो टोकियो निकै पटक ।

    तर, सामलीले कुनै एक वादी महिलालाई पुर्ख्यौली पेशाबाट छुटाएर जीवनउपयोगी शिक्षा दिनुपर्थ्यो, त्यो ठाउँमा छोरी आउन आउन लागेको हो, तर छोरी गुमनाम । आफ्नै भाइलाई आफ्नो बुवाजस्तो ‘केवल एक वादी महिलाको श्रीमान् ’ बन्नबाट माथि उठाउन के गरी त?

    मैले कतै लेखेको छुः पात्रले गरेनन् भने पनि लेखकले पात्र प्रयोग गरेर एउटा शिक्षा दिनुपर्ने हो बाँकी बाटो देखाउन लेखक पात्र बनेर हिँड्ने हो । नथिया पढेर अहिलेका वर्तमान वादी महिलाहरूले सिक्ने भनेको कसरी सामली जस्तो (दार्शनिक वादी) बनेर ग्राहक तान्ने ऊजस्तो बन्ने नै हो । तर, नयाँ सामलीजस्तो बन्ने नयाँ धार कसरी पकड्ने भन्ने कुरा पुस्तकमा छैन ।

    मैले मीनराज वसन्तको मुदिर पढेर लेख्दा पनि लेखेको छुः “रियल पात्रले आफ्नो कथा पढ्दा आफ्नो कम्जोरी भेटोस् र आफूलाई सच्याउने निर्णय गरोस् !” नथियामा त्यस्तो केही छैन । जे भोगेको हो त्यही छ । मुदिरमा डम्बरेले दुख मात्रै बतायो दुःख नपाउन के गर्नुपर्छ कहिल्यै बुझेन । बरु छुट्टी काटेर फर्की फर्की कतार आयो । कतार जानेलाई के सिकेर के बुझेर जानुपर्छ भन्ने केही बुझेन ।

    सामली पनि त्यतिका दाशर्निक हुँदाहुँदै पनि न आफू बद्ली न अरूलाई त्यो नरकीय जीवनबाट उठाई । म यो किसिमको लेखाइलाई विवरण पेस मात्र वा समस्या मात्र देखाएको वा अझै डा. नवराज लम्सालको भाषा सापटी गरेर भन्नु पर्दा चिन्ता मात्रै गरेको भन्छु जहाँ समाधानका उपाय नै छैन, चिन्तन छैन । पुस्तकमा हुनुपर्छ, हामी रिपोर्ट धेरै गर्यौँ । पुस्तकले समाधानको सङ्केत पनि गर्नुपर्छ ।

    नथिया पुस्तक पढेर “आज सामली यो स्थानमा उसको यो बुद्धि वा यो जुक्ति वा यो कारणले छे” भनी पढ्न पाउनु र ऊ त्यो स्थानमा हुन अथवा पुग्न अरू पश्चिमका वादी र काठमाडौँ बसपार्कका वादी महिलाहरूले ऊबाट सिक्ने र आफूले गर्ने अठोट, टिप्स, खुराक, सार नहुनु नथियाको ठुलो कम्जोरी हो ।

    अन्तमा त उ एकाएक सामली हराई झन् यो विडम्बना । आमा (सामली) बाट छोरीले के सिकिन् ? छोरी गुमनाम छिन् । यतिका लेखेपछि कम्तीमा वादी परिवारको बिहेको संस्कार पनि लेख्नुपर्ने । आफ्नो त पटकपटक भो, भाइको र बुवाको दाहसंस्कार बारे अलिकति लेख्नु पर्ने ।

    वादी बस्तीको ऐना बन्यो नथिया जसले देखाइरह्यो जस्ताको त्यस्तै । तर नयाँ बाटो खनेन, अरू वादीहरूलाई नयाँ बाटो र फरक गन्तव्य, लक्ष्य, जीवनमा पुर्याउन ।

    अर्को कुरा म दाङ, कञ्चनपुर, नेपालगञ्जको साथीहरूसँग बसेको अनुभवले भाषामा अध्ययन पुगेन कि पनि भन्छु । मैले बुझेर हैन जे सुन्छु त्यसैको आधारमा भनेको हुँ ।

    काल्पनिक पात्रको त के कुरा तर यसरी कोही व्यक्ति, समुदायकै जीवन घटना लेखिन्छ भने पुस्तक प्रकाशनपछि ती व्यक्ति समुदायमा पुस्तक वा लेखको केही न केही असर देखिनुपर्छ । चुनाव जितेको नेता जस्तो दोस्रो पटक नफर्किने हो भने पश्चिम गरिबीको पर्यायमा बाँचिरहने भो । आफ्नै बर्कतले केही गर्नेलाई पनि लेखकहरू गरिबीको ट्याग दिइरहने भए । फेरि पनि भन्छु, “काठमाडौँको सुनको निबले कर्णालीको गरिबी धेरै लेख्यौँ ।” रूप रसाइली  समालोचकमा

     

    LEAVE A REPLY

    Please enter your comment!
    Please enter your name here