७४ सालका नेपाली उपन्यास : कामभन्दा हल्ला बढी

0
826

उपन्यासको प्रकाशन र चर्चाको दृष्टिले २०७४ सालको उत्तरार्द्ध बढी चलायमान रह्यो, पूर्वार्द्ध भन्दा । यस वर्ष प्रकाशित भएका उपन्यासको सङ्ख्या करिब दुई दर्जन पुग्यो होला, तर एक हातका औँलामा गनिने उपन्यासले साँचो अर्थमा केही तरङ्ग दिएर गए । अरु परम्पराको निरन्तरता अथवा रहरमा सीमित भए । केही फलत ‘चलन–चल्ती’ अथवा बिकाउ विषय लिएर आए भने केही सर्जकको लेखक बन्ने उत्कण्ठाको अभिव्यक्तिजस्तामात्रै देखिए । केहीले अखबारलाई पालो दिए, र अखबारी विषय उपन्यासमा घोलिदिए । सारमा यो वर्ष उपन्यासको बजार गुणवत्ताका दृष्टिले औसत रह्यो, यद्यपि वर्षका पछिल्ला केही महिनाहरूले त्यस निराशालाई क्षतिपूरण गरेको भने अवश्य छ । तर यस लेखको उद्देश्य उक्त उपन्यासहरूको समालोचना गर्नु होइन, यो फगत एक टिपोट हो, अथवा भनौँ एउटा अभिलेखीकरणको प्रयासमात्र हो । उपन्यासको गुणस्तर त पाठकको अदालतमा निक्र्यौल भइसकेकै छ ।

अचेल साहित्यका ‘आम आदमी’ फ्याट्ट एउटा मनोगत टिप्पणी गरिदिन्छन्ः यो उपन्यासको युग हो । कतिपय ठान्छन्, अहिले उपन्यासको वर्चस्व छ । यसका लागि तेस्र्याइने गरेको एकमात्र आधार बिक्रीको सङ्ख्यालाई मानेको देखिन्छ । साहित्यमा एउटा युगको मापन कसरी हुन्छ? त्यसले पारेको प्रभाव, त्यसले दिएको नेतृत्व, त्यसले निम्त्याएको परिवर्तन, त्यसले निम्याएको बहस, र त्यसले प्रस्तुत गरेको गुणवत्ता यसका मापक हुन सक्छन् । अचेल कुनै स्थापित लेखकको शैलीकै सिको गर्दै यौन र प्रेमबारेको पुराऽऽऽनो कुनै कथावस्तु समेटेर उपन्यास ल्याइन्छ, र दोस्रो अथवा तेस्रो संस्करणमा बाहिर “बेस्ट सेलर” भनेर स्टिकर टाँसिन्छ स्वयंभू ढङ्गले, र ढोल पिटिन्छ । र सुरु गरिन्छ भ्रमको खेती । त्यो कुरा, लेखक आफैँका लागि पनि विकासको बाटो बन्द गर्ने उपक्रम हो । हामी साहित्यमा जुन स्तरको साधना र तपस्या हुनुपर्छ भनेर सोच्छौँ अथवा वकालत गर्छौ, त्यसको ठीक विपरीत, जिम्मेवारीविहीन प्रकाशनगृहहरू साहित्यको नाममा यस्तै केही बेचिरहेछन् । यो विडम्बनापूर्ण स्थिति नेपाली उपन्यासको बजारमा यो वर्ष पनि देखियो । तर केही जिम्मेवार उपन्यासकारहरूले यस विधाको साख बचाएका अवश्यै छन् । उनीहरू सादुवादका पात्र अवश्य हुन् ।

यो वर्ष नेपाली बजारमा आएका उपन्यासहरू यस प्रकार छन् । यसमा प्रकाशन महिनाको क्रम भने भञ्जन गरिएको छ । केही छुटेको अवश्यै होलान्, माफ पाऊँ । अनुसन्धान जारी छ । यस लेखलाई अद्यावधि गर्दै लानेछु ।

१. भीष्म उप्रेतीको पाइला पाइलाः साहित्यकार उप्रेतीको यस पुस्तकलाई क्रिएटिभ बुक्सले २०७४ को सुरुमै बजारमा ल्याएको हो । यात्रा–उपन्यास पाइला पाइलामा उप्रेतीले पश्चिम नेपाल, विशेष गरी नेपालगञ्ज र यसको सेरोफेरोका मैदान र पहाडका आफ्ना अनुभवहरूलाई आख्यानीकृति गरेका छन् । केही वास्तविक जस्ता लाग्ने, र केही काल्पनिक जस्ता लाग्ने पात्रहरूको संयोजन गरेर तयार गरिएको यस उपन्यासमा विभिन्न आर्थिक अवस्थाका मानिसको जनजीवन अटाएका छन् । सुन्दर हुँदाहुँदै पनि अज्ञात कारणहरूले यस उपन्यासको विक्रीवितरण त्यति प्रभावशाली भएको पाइएन ।

२. हेमप्रभासको उल्झनः लिपि बुक्सबाट आएको यो पुस्तक कवि भनेर चिनिएका हेमप्रभासको पहिलो उपन्यास हो । उपन्यासले वर्तमान नेपालको निराशाजनक सामयले युवाहरूको मनोविज्ञानमा उमारेको नैराश्यको चित्रण गरिएको छ । धादिङ र काठमाडौँलाई कार्यपीठिका बनाएर लेखिएको यस उपन्यासको भाषा काव्यिक छ, प्रस्तुतीमा अधिकांश हिस्सा यथार्थवादी, र केही अतियथार्थवादी र तिलस्मीको नजिक पनि छ । राम्रो पाठक प्रतिक्रिया पाएको यस उपन्यसाले धेरैवटा विषय समेट्न खोजेको टिप्पणी पनि पाठकहरूले गरे । उपन्यासले नेपालका अतिरिक्त अमेरिकामा पनि राम्रो प्रतिक्रिया पायो।

३. तीर्थ गुरुङको पाठशालाः बुक हिलबाट प्रकाशित यो उपन्यास तीर्थ गुरुङको पहिलो उपन्यास हो । उपन्यासले प्रकाशनको समयदेखि नै पाठकहरूबाट सकारात्माक प्रतिक्रिया पायो । नेपालमा किशोर मनोविज्ञानमा खासै कसैले पनि केही नलेखेको सन्दर्भमा उपन्यासकार गुरुङले एउटा असामान्य र फरक मानिसक अवस्थाको पात्र “डब्बु” को चित्रणमार्फत् एउट बिल्कुलै फरक विषयमा यस उपन्यासमार्फत् बहस गरेका छन् । उक्त किशोरको डायरीमा उसले समेटेको, उसको परिवार, समाज, शिक्षक, साथीभाइ र प्रेमिकासँगका उसका सम्बन्धको चित्रण उपन्यासले गरेको छ । यो उपन्यास यो वर्ष पाठकहरूको मन जित्न सफल भएको ठानिएको छ ।

४. विवेक ओझाको ऐलानी:  उपन्यासमा डेब्यू गरेका युवा लेखक विवेक ओझाको ऐलानीलाई साङ्ग्रिला बुक्सले बजारमा ल्याएको हो । सुदूरपश्चिम नेपाल, विशेष गरी कैलालीका वादी समुदायमा व्याप्त यौन व्यवसायको मिहित अध्ययनमा आधारित यो एउटा समाजिक समस्यामा केन्द्रित उपन्यास हो । उपन्यासले निकै राम्रो चर्चा बटुलेको छ, र कलिलो उमेरका उपन्यासकारका लागि यो एउटा बुलन्द हौसलाको विषय हो ।

५. अञ्जना राजवंशीको श्रृष्टिको कथाः कुनै बेला प्रवेशिका परीक्षामा छात्रातर्फबाट प्रथम भएकी अञ्जना राजवंशीको यो पहिलो कृति हो । किशोर मनोविज्ञानमा आधारित यो कथा किशोरावस्थाको उदयसँगै युवाहरूको मनोविज्ञानमा आउने उतारचढाउ, प्रेम, यौन, महत्त्वाकांक्षा आदि विषयलाई केन्द्रमा राखिएको सुन्दर पुस्तक हो । बुकआर्ट नेपालले छापेको यस पुस्तकको पाण्डुलिपिले गोविन्द गोठाले पाण्डुलिपि पुरस्कार २०७१ पनि पाइसकेको थियो । तर, प्रकाशकले यस कृतिको वितरणमा खासै ध्यान दिएको देखिएन । फलतः यो पुस्तक बजारमा मज्जाले वितरित भएन, र चर्चामा पनि गएन ।

६. नबराज पाण्डेको पापी मास्टरः साहित्यकार नबराज पाण्डेको यो पहिलो उपन्यास हो । यसलाई ऐश्वर्य प्रकाशनले बजारमा ल्याएको हो । उपन्यासमा शिक्षक र विद्यार्थीका मिहिन र अपरम्परित सम्बन्धहरूलाई सुक्ष्म रूपमा कोलाइएको छ । शिक्षक, विद्यार्थी र अभिभावकहरूको पारस्परिक सम्बन्धमा आधारित यस उपन्यासले यौनरहित एक आदर्श सम्बन्धको वकालत गरेका छ, र उच्च नैतिक स्वास्थ्यको आवश्यकतालाई औँल्याएको छ । फरक विषयवस्तु र विशिष्ट शैली बोकेको यस उपन्यासले पाठकहरूबाट सकारात्मक चर्चा बटुलेको छ । तर, यस पुस्तकको विक्री–वितरणमा पनि व्यवसायिकता देखिएन । फलस्वरूप, यसले संचारमाध्यमहरूमा यथोचित स्थान र चर्चा पाएन ।

७ .हरिमाया भेटवालको कल्लीः शिखा बुक्सले यसै साल बजारमा ल्याएको कल्ली उपन्यास हरिमाया भेटवालको सामाजिक यर्थावादी उपन्यास हो । कल्ली नाम गरेको प्रमुख पात्रको जीवनवृत्तमा घुमेको यस उपन्यासले छोराको कामना हुँदाहुँदै छोरीको रूपमा जन्मन पुगेकी कल्लीले त्यसउपरान्त भोग्नुपरेको तमाम पीडाहरूको अभिलेखिकरण गरेको छ । ग्रामिण भेगकै सेरोफेरोमा लेखिएको यस उपन्यासले नेपाली समाजमा व्याप्त लैङ्गिक र आर्थिक विभेदमाथि बलियो बहस गरेको छ । उपन्यासलाई थुप्रै पाठकहरूले रुचाएको पाइएको छ ।

८. विप्लव प्रतीकको अविजितः कवि र गीतकारको रूपमा चिनिएका श्रष्टा विप्लव प्रतीकले यस वर्ष अविजित उपन्यास प्रकाशित गरेर उपन्यासमा डेब्यु गरेका छन् । बुकहिल प्रकाशनले बजारमा ल्याएको यस उपन्यासले काठमाडौँ उपत्यकाको सेरोफेरोलाई समेट्दै विभिन्न राजनैतिक घटनाक्रमहरूको बीचमा प्रवाहमान पारिवारिक सम्बन्धहरूको मिहिन चित्रण गरेको छ । आफ्ना बाबाका बारेमा सुनेदेखेका कुरालाई आधार बनाएर लेखिएको यस उपन्यासमा नेपाली राजनीतिको लामो कालखण्ड पनि समेटिएर आएको छ । आफू मरेर पनि हार नखाने पात्रलाई अविजितको रूपमा चित्रण गर्दै उपन्यासकार प्रतीकले नेपाली समाज र इतिहासलाई पनि आफ्नो आख्यानको दायराभित्र ल्याएका छन् । उपन्यासको चर्चा राम्रो भएको छ ।

९. जे. बी. दर्लामीको यात्रीः यात्री, लेखक दर्लामीको पहिलो उपन्यास हो । लिपि बुक्सले बजारमा ल्याएको यस उपन्यासले मंगोल जाति र प्रकृतिका बीच विद्यमान अनुन्याश्रित सम्बन्धलाई आधारविन्दु बनाएको छ । प्राचीन वंश खोज्न हिँडेका तिब्बतीहरूको विस्थापनको मर्मलाई कथावस्तु बनाइएको यस उपन्यासमा यात्रीले एउटा अध्यात्मिक निरुपण पनि खोजेको प्रतीत हुन्छ । उपन्यासले २०७४ मा पाठकहरूको वृत्तमा निकै राम्रो प्रशंसा बटुल्यो ।

१०. प्रगति राईको  बिर्सिएको मृत्युः लेखककी स्वास्नी उपन्यासबाट चर्चामा आएकी प्रगति राईले यो वर्ष नेपाली उपन्यासको बजारलाई बिर्सिएको मृत्यु उपहार दिएर गइन् । इण्डिगो इङ्क प्रकाशनले बजारमा ल्याएको उस उपन्यासमा नेपालमा आएको महाभूकम्पपछिको परिवेशलाई समेटिएको छ । भूकम्पपछि मानवीय सम्बन्धहरूमा देखिएको परिवर्तन, पारिवारिक विघटन, पति–पत्नीको सम्बन्धमा देखिनेगरेको खटपट र सम्बन्धविच्छेदका प्रसङ्गहरू यस उपन्यासमा समेटिएका छन् । जस्तोसुकै अवस्थामा भए पनि आपदविपदतको समयमा सामवीय चिन्तन समान हुन्छ, र सबै समान तरिकाले संवेदित हुन्छन् भन्ने तर्क यस उपन्यासले स्थापित गरेको छ । उपन्यास पाठकहरूबाट रुचाइएका पुस्तकमध्येको एक बनेको छ ।

११. कल्पना कल्पपुञ्जको सञ्जीवनीः शिखा बुक्सले बजारमा ल्याएको कल्पना कल्पपुञ्जको सञ्जीवनी उनको पहिलो उपन्यास हो । एक आवाजविहीन पात्रको दृष्टिविन्दुबाट लेखिएको यस उपन्यासको केन्द्रीय कथ्य समाजिक असन्तुल, लैङ्गिक हिंसा र फरक क्षमताका व्यक्तिहरूमाथि हुने गरेको ज्यादती नै हो । स्याङ्ज्या र काठमाडौँलाई कार्यपीठिका बनाइएको यो उपन्यास फरक क्षमताको अध्ययनका लागि सार्थक हुनसक्छ । उपन्यासले कल्पपुञ्जको औपन्यासिक क्षमतालाई पाठकमाझ उजागर गरेको छ । आवाजविहीन पात्रलाई उपन्यासकै सबैभन्दा वाचाल पात्रको रूपमा प्रस्तुत गरिनुलाई अपारम्परिक पनि मान्न सकिएला ।

१२. लक्ष्मण तिवारकिो पाहुना घरः साहित्यकार लक्ष्मण तिवारीको पाहुना घरलाई इटरनल बुक्सले यस वर्ष बजारमा ल्याएको हो । लेखकको पहिलो उपन्यास हो यो । यसमा बढ्दो भैतिकताका कारण छोराछोरीबाट अवहेलित हुनपुगेका बूढा बाआमाको मर्मकथा छ । छोरा आआफ्ना श्रीमतीसँग अन्यत्रै बस्न थालेपछि अलपत्र परेका बूढाबूढीलाई आफ्नै छोराबुहारीले पशुपतिको एक बृद्धाश्रममा फालेपछि उत्पन्न कारूणिकता यस उपन्यासको पटाक्षेपको सुन्दर पक्ष हो । केही तथ्यगत र संरचागत सीमाहरूलाई एकछिन बिर्सने हो भने यस उपन्यासमा एउटा क्लासिकमा हुनुपर्ने गुणहरू छन् । खासै नसुनिएको प्रकाशनबाट आएको यस पुस्तकको बजार व्यवस्थापन त्यति चुस्त देखिएन, र उपन्यासले खासै चर्चा पनि पाएन । तर उपन्यास निकै राम्रो छ ।

१३. नायारण ढकालको हजारमा माइलको बाटोः फिनिक्स बुक्सले प्रकाशनमा ल्याएको यो उपन्यास ढकालको पछिल्लो कृति हो । यसमा वृशभबधको कथा जुन विन्दुमा छोडिएको थियो, त्यहीँबाट प्लटको उठान गरिएकोले त्यसको सिक्वेल मान्ने पाठकहरू पनि छन् । सुन्दर कलाशिल्पसहित मिहिन ढङ्गले बुनिएको यस उपन्यासले नेपालको कम्युनिष्ट आन्दोलनको एउटा आलोचनात्मक चेत बोकेको छ, र घुमाउरो पारामा सरकारी माक्र्सवादको आलोचना गरेको छ । जनआन्दोलन विफल भएको र नेताहरूले कार्यकर्तालाई आफ्नो स्वार्थपूर्तिका लागि मात्रै प्रयोग गरेको उपन्यासको निचोड हो । उपन्यासलाई ढकालका यसअघिका उपन्यासको सापेक्षतामा पनि हेरिएकोले होला, पहिलेजस्तो चर्चा पाएको भने भेटिएन ।

१४. सरस्वती प्रतीक्षाको नथियाः कविको रूपमा परिचित सरस्वती प्रतीक्षाले यस वर्ष नथियासहित उपन्यासमा डेब्यु गरिन् । बुकहिल प्रकाशनले बजारमा ल्याएको नथिया दाङ्को पक्रैयाको वादी आवदी भएको क्षेत्रको वरिपरि घुमेको उपन्यास हो । पहिलो महिनावारी भएपछि नाकमा नथिया लाउने, र पहिलो यौनसम्बन्धपछि त्यसलाई उतार्ने परम्परा रहेको बादी समुदायका नारीहरूले जीवन बाँच्नका लागि गरेको संघर्षको कथा हो नथिया । उपल्लो वर्गका भनिएका, तर बादीलाई पानी अचन मान्ने समुदायका नेता, प्रहरी, लेखक, सहित्यकार र प्राध्यपकहरू नै कसरी बादी महिलाहरूसँग यौन संसर्गका लागि जान्छन्, तर कसरी जिम्मेवारीबाट हट्छन् भन्ने कुरा यस उपन्यासमा देखाइएको छ । राम्रो चर्चा पाएको यस उपन्यासमा प्रयुक्त स्थानीय भाषिकाका बारेमा भने निकै तीव्र टिप्पणीहरू भए ।

१५. कल्पना शाहको हराएको पात्रः लेखिकका शाहको उस उपन्यासलाई शब्दहार प्रकाशनले बजारमा ल्याएको हो । उपन्यासले वैदेशिक रोजगारले निम्त्यएका विभिन्न मानवीय सङ्कट र खल्बल्लिएका सम्बन्धहरूको कथा हो । उपन्यासले त्यति धेरै चर्चा पाएको सुनिएन ।

१६. निलम कार्की निहारिकाको योगमायाः उपन्यासकार निलम कार्की निहारिकाको पछिल्लो उपन्यास योगमायालाई साङ्ग्रिला बुक्सले बजारमा ल्याएको हो । क्रान्तिकारी महिला योगमायाको जीवनका मिहिन पाटालाई अनुसन्धानबाट केलाएर र स्थापित गरेर यो उपन्यास लेखिएको छ । योगमाया बाल बिधवा हुन् भन्ने हालसम्म पढँदै आइएको कुरालाई यस उपन्यासले उल्ट्याइदिएको छ । योगमायासँगै अरूणमा हाम्फाल्ने ६७ अन्य नरनारीहरूको कथा र कथनलाई पनि समेटेकोले उपन्यास मोटो हुनपुगेको छ । उपन्यासले पाठकहरूबाट राम्रो प्रतिक्रिया पाइरहेको छ ।

१७. कृष्ण धरावासीको तल्लो बाटोः कृष्ण धरावासीको उपन्यास तल्लो बाटोलाई यसै साल पैरवी प्रकाशनले बजारमा ल्यायो । नेपालमा विद्यमान लामो द्वन्द्वको स्थिति, राजनैतिक व्यथिति र गरिबीका कारण विदेशतिर पलायन हुन बाध्य भएका, अथवा धनआर्जनका लागि देश छोड्न उद्यत भएका युवाहरूको पीडाको कथा हो । मेक्सिको हुँदै चोरबाटोबाट गैरकानुनी रूपमा अमेरिका पुगेका पात्र कसरी दलालबाट ठगिन्छन् र कसरी कानुनबाट खेदिन्छन् भन्ने कुरा यस उपन्यासमा देखाइएको छ । आफैँमा उपन्यासको एउटा ब्राण्ड बनिसकेको धरावासीको यो उपन्यासको व्यवसायिक सफता भने मध्यम रह्यो ।

१८. कृष्ण ढुङ्गेलको मिराजः युवा लेखक कृष्ण ढुङ्गेलको उपन्यास मिराजलाई डिकुरा प्रकाशनले बजारमा ल्याएको हो । युवावस्थाको प्रेम र यौनको कथा बोकेको यस उपन्यासले तरुण पाठकहरूको ध्यान तानिरहेको देखिएको छ । विषयवस्तु नयाँ लाग्दैन ।

१९. प्रदीप बस्नेतको सिक्रेट लभः किशोर लेखक एवं कवि प्रदीप बस्नेतको यो पहिलो उपन्यास हो । डिकुरा प्रकाशनले प्रकाशित गरेको यस उपन्यासमा पनि प्रेम र यौन, र यी विषयले किशोरहरूमा मार्ने मनोवैज्ञानिक असरलाई विषय बनाइएको छ । कक्षा ११ का विद्यार्थी प्रदीपको लेखकीय क्षमताको द्योतक यस उपन्यासले उनलाई लेखनको क्षेत्रमा अगाडिको बाटो तय गर्नका लागि एउटा प्रस्थान बिन्दु दिएको मानिएको छ ।

२०. निमेश पौडेलको फाइभ मन्थ्सः बुलबुल प्रकाशनले निकालेको यो पुस्तक निमेशको पहिलो उपन्यास हो । उपन्यास स्कुली जीवनका घटना परिघटनाहरूको सेरोफोरोमा बुनिएको छ । किशोरहरूको आपसी र वयस्कहरूसँगको सम्बन्ध र यसका मनोवैज्ञानिक असरबारे लेखिएको यो एउटा किशोर उपन्यास हो । यस कृतिको बिक्रिवितरण निकै उत्साहजनक भएको बुझिएको छ । यसले छापामा भने खासै समीक्षकहरूको ध्यान तान्न सकेको देखिएन ।

२१. अनल गौतमको लभ एट पच्चीसः यो उपन्यास लेखक अनलको चौथो कृति हो । यसमा युवायुवतीको प्रेम सम्बन्ध र यसले दिने आनन्दलाई विषयवस्तु बनइएको छ । पच्चीस दिनको निरन्तर भेटघाटपछि वैवाहिक सम्बन्ध स्थापित गर्ने निर्णयमा पुगेका प्रमुख पात्रको माध्यमबाट लेखकले विशुद्ध नेपाली शैलीको प्रेमआख्यान प्रस्तुत गरेका छन् । उपन्यासले विशेषतः किशोरवयका पाठकलाई बढी आकर्षित गरेको बुझिएको छ ।

टिप्पणी

यस वर्ष आएका उपन्यासको प्रकृति, चरित्र र पाठक प्रतिक्रिया हेर्दा लाग्छ, अन्य विधाबाट उपन्यासमा एक्कासि हाम्फालेका लेखकहरूले उनीहरूका पूर्वबिधामाजस्तो लोकप्रियता उपन्यासमा पाउन सकेनन् । नवप्रवेशीहरूले स्थापित लेखकहरूको सिको गरे, र गम्भीर अध्येताको ध्यान तान्न सकेनन् । प्रेम र यौनकेन्द्री उपन्यासको ह्याङओभर यस वर्ष पनि जारि रह्यो, र ती पनि गम्भीर पाठक र अध्येताका नजरमा परेनन् । किशोर र तरूणहरूले भने त्यस्ता उपन्यास जरुर पढे, र ठूलो सङ्ख्यामा बिकाए । त्यो छुट्टै कुरा हो । र यस्तै ‘छुट्टै कुरा’ ले उपन्यासको बजार तताउने गर्छ । कुनै समुदायविशेषका बारेमा आख्यान लेख्ने श्रष्टाहरूमा विषय दोहोरियो, र पहिले प्रकाशनमा आउने उपन्यासकारले पछि आउने उपन्यासकारहरूका लागि कठिन परिस्थितिको सिर्जना गरिदिए । उपन्यासमा प्रयुक्त स्थानीय भाषाको जनकारी लेखक स्वयंमा नहुनु, र त्यसका लागि कुनै सम्पादकमा भर पर्नु जोखिमपूर्ण हुने पनि देखियो । यसबाट सबै लेखक अथवा उपन्यासकारहरूले आफूलाई पूर्ण आत्मविश्वास नभएको क्षेत्रका बारेमा लेख्दा वा त्यहाँको भाषा प्रयोग गर्दा सचेत हुनुपर्ने सन्देश यस वर्षको अनुभवले दिएको छ । यस कुरालाई स्वीकानु–नीवीकार्नु लेखकको स्वतन्त्रताको कुरा हो । सुन्दर उपन्यासलाई व्यवसायिक बनिनसेका प्रकाशन गृहबाट प्रकाशित गर्दाको जोखिम पनि यो साल देखियो । धेरै राम्रा उपन्यास कमजोर वितरण प्रणालीका कारण व्यवसायिक रूपमा असफल देखिए । अनुसन्धानमा आधारित भएर लेखिएका र पृथक शैलीमा बुनिएका उपन्यासहरू पाठकको रोजाइमा परे । उपन्यासकार बनिहाल्ने होडमा रहेका र अरुको शैलीको सिको गर्ने नवप्रवेशीलाई भने नेपाली उपन्यासका भावकहरूले केही पाठ अवश्य सिकाएको हुनुपर्छ यस वर्ष ।

यस वर्ष उपन्यासको फाँटमा हल्ला बढी निखार कम देखियो । अर्को वर्ष यसको ठीक विपरित होस्ः हल्ला कम, निखार बढी । महेश पौड्याल समालोचोकमा ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here