गुरु दत्त : हिरो अफ गोल्डेन एरा

    संसारका सबै मान्छे एउटै साधारण घटनाका निमित्त हुन मात्रै जन्मदैनन् । केही मान्छेहरू हुन्छन्, जो जन्म या मृत्युको कालक्रमबाट माथि उठ्छन् । तिनीहरू कुनै यत्नले समयलाइ पक्रन्छन् र आफ्नो  विशिष्ट सौन्दर्यको मादकताले वशीभूत बनाइराख्छन् । समय उनीहरू संगै निर्लिप्त हुन्छ र उनीहरू समयातीत हुन्छन् ।

    गुरु दत्त यस्तै एउटा नाम हो जो अब समय भन्दा ‘पार’ छन्, समयातीत छन् । एउटै ढर्रामा हिंडिरहेको बलिउडी फिल्मी जगतमा उनले जुन उभार ल्याइदिए, त्यसका तरङ्गहरू अझै बाँकी नै छन् र उही मुहानबाट निसृत भएका छन् अरु असङ्ख्य रंगीन तरङ्गहरू ।

    ब्रिटिश अधिनस्थ भारतको बेङ्गलोरमा ९ जुलाई, १९२५ मा जन्मिएका बसन्त कुमार शिवशंकर पादुकोनपछि दुनियाँले बिर्सनै नसक्ने नाम गुरु दत्त भए । आज संसारका सुन्दर फिल्महरूको कुरा गर्दा छुटाउनै नहुने एक नाम हो गुरु दत्त । भारतका अरसन वेल्स भनेर पनि चिनिने दत्तलाई सन् २०१० मा सि.एन.एन. ले एसियाका कालजयी २५ कलाकारहरूको सूचीमा राखेको छ ।

    ब्राम्हण परिवारमा जन्मिएका गुरु दत्तका पिता हेडमास्टर हुनुहुन्थ्यो र पछि बैंकमा जागिरे हुनुभयो । उहाँकी माता वसन्ती पनि स्कुलमा पढाउनुहुन्थ्यो साथै उहाँ कथाहरू लेख्नुहुन्थ्यो र बङ्गाली उपन्यासहरू कन्नाड भाषामा अनुवाद पनि गर्नुहुन्थ्यो । उहाँ १६ वर्षकी हुँदा गुरु दत्तको जन्म भएको थियो । गुरु दत्तको सुरुवाती बाल्यकाल कोलकाता स्थित भोवानीपुरमा बित्यो । त्यहीं रहंदा उनी बङ्गाली भाषा र संस्कृतिको सम्पर्कमा आए ।

    गुरु दत्तले सुरुमा टेलिफोन अपरेटरको नोकरी गरे । पछि उनले ‘प्रभात फिल्म कम्पनी’ मा काम गरे । यहीँ उनको भेट देवानन्दसँग भयो र पछि दुईबीच निकै राम्रो मित्रता पनि भयो । सन् १९५१ मा उनी निर्देशित पहिलो चलचित्र ‘बाजी रिलिज भयो । यसै फिल्म मार्फत संगीतकार एस डी बर्मन र सायर साहिर लुधियानवीले बलिउडको विशाल रङ्गमञ्चमा डेब्यु गरे । फिल्म सुपरहिट भयो । फिल्मको सफलता सँगै गुरु दत्तको चर्चा पनि चुलियो । उनले अन्य कैयौं व्यवसयिक रुपमा सफल फिल्महरू दिए । ‘जाल’, ‘आर पार’, ‘मिस्टर एन्ड मिसेज ५५’, ‘सिआइडी’, ‘चौदहवी की चाँद आदी उनीद्धारा निर्देशिन÷अभिनित सफल चलचित्रहरू हुन । सन् १९५७ मा गुरु दत्त निर्देशित/अभिनित चलचित्र ‘प्यासा’ रिलिज भयो । फिल्म सबै वर्गका मानिसहरूमाझ उत्तिकै लोकप्रिय भयो र बक्स अफिसमा निकै राम्रो कमाइ गर्न पनि सफल भयो । ‘प्यासा’ हिन्दी फिल्मी इतिहासमा बिर्सन नसकिने चलचित्रहरू मध्य एक हो । ‘टाइम’ म्यागाजिनले यस फिल्मलाई कालजयी १० रोमान्टिक फिल्मको सुचीमा राखेको छ ।

    ‘प्यासा’ को सफलतापछि सन् १९५९ उनको अर्को एक कालजयी फिल्म ‘कागज के फूल’ रिलिज भयो । फिल्म उतिबेला व्यवसायिक रुपमा असफल सावित भयो । फिल्मकर्मीहरू भन्छन् गुरु दत्तले आफ्नो समयभन्दा निकै अघि बढेर बनाएका थिए ‘कागज के फूल’ । यस फिल्मलाइ आज संसारकै एक ‘उत्कृष्ट’ चलचित्रको रुपमा सम्झना गरिन्छ । गुरु दत्तलाई नजिकबाट जान्नेहरू यस फिल्मलाई उनको ‘अटोबायोग्राफिकल’ भन्न रुचाउँछन् । प्यासा’ मा समय र समाजसँग आन्दोलित कविको भुमिका निभाएका गुरु दत्त यस फिल्ममा एक फिल्मकर्मीको रुपमा देखा पर्छन, जो शुरुमा एक सफल निर्देशक हुन्छन् । एक ‘बारिश’ वाली रात उनको भेट शान्ति (वाहिदा रेहेमान) सँग हुन्छ । पत्नीसँग अलग्गिएर बसेका मि. सिन्हा (गुरु दत्त) की छोरी स्कुलको होस्टेलमा बसेकी हुन्छिन् । पछि मि. सिन्हाको पारिवारिक जीवनमा आफ्नो कारणले दख्खल पर्ने अवस्था आएपछि शान्ति उनीबाट टाढा जान्छिन् । गुरु दत्तको सिर्जना सँगै उनको जीवनलाइ पनि केलाउन थाल्दा यो छुट्याउनु लगभग असम्भव हुन्छ कि कहाँ कहानी ‘खत्म’ हुन्छ र आत्मकथा शुरु हुन्छ । कैफि आजमले लेखेको ‘कागज के फूल’को एउटा गीतमाथि जावेद अख्तर भन्छन्, “गुरु दत्तको सारा जीवन कहानी यहि गीतका पंक्तिहरू भित्र अटाउँछन् ।”

    देखी जमाने की यारी

    बिछडे सभी बारी बारी

    वहाँ फूल ही फूल थे दामन मे

    यहाँ काँटो के भी आश नहीँ

    मतलब की दुनियाँ है सारी

    बिछडे सभी बारी बारी’

     

    जान्नेहरू भन्छन् गुरु दत्तको पारिवारिक जीवन असन्तुलित थियो । यसबाहेक तमाम इज्जत, प्रतिष्ठा र सफलताका बाबजुद पनि उनी भित्र यस्तो खाली ठाउँ थियो, जहाँ संसारका जस्तै खुशी, उमङ्गहरू पनि तारा झैं खसेर निभ्थे । त्यो कहिल्यै नभरिने खालीपनाले आखिरमा उनको जीवन अल्पायमै खोस्यो र धरतीको एउटा घाम अस्तायो । यद्यपी कहिल्यै फिका नहुने रोशनी उनले छाडेर गएका छन् जो रहिरहनेछ सधैंभरि ।

    सन् १९६२ मा उनले अर्को ‘बेहेतरीन खुबसुरत’ फिल्म ‘साहिब, बीबी और गुलाम’ बनाए । फिल्म उत्तिकै लोकप्रिय भयो । उच्च कलात्मक फिल्महरू हुन वा व्यवसायिक हल्का फुल्का फिल्महरू, निर्देशक वा कलाकारको रुपमा उनको ‘जिनियस’ फिल्मी जगतमा आउने पिँढीहरूका लागि सधैं मार्गदर्शक भइरह्यो ।

    सन् १९६४ मा उनले रिशिकेष मुखर्जी निर्देशित चलचित्र ‘साँझ और सवेरा’ मा अभिनय गरे । दुर्भाग्य, यो उनी अभिनीत अन्तिम चलचित्र भैदियो । जीवनका आखिरी दिनहरूमा उनी फिल्म ‘बहारे फिर आएँगी मा काम गरिरहेका थिए । तर उनको व्यक्तिगत जीवनमा भने यसपछि कहिल्यै बहार आएन । १० अक्टोबर १९६४ को रात अबेर सम्म यसै फिल्म माथि काम गरेपछि उनको टेलिफोनमा पत्नी गीता दत्त सँग केहि वादविवाद, झगडा भयो । त्यसपछि उनी आफ्नो कोठामा सुत्नका लागि गए । अन्तिम पटक ।

    मात्र ३९ वर्षको उमेरमा दुनियाँ बाट बिदा भएका यी महान कलाकारले फिल्मी जगतमा जम्माजम्मी १३ वर्ष बिताए र युगौंयुग सम्मलाइ कहिल्यै नमिटिने गुन लगाएर गए । प्रश्नहरू छन्: के महान कलाको रचनाले आफ्नो कलाकारको बलि माग्छ? के महान कलाहरू दुनियाँमा छाउनका लागि कलाकारको नामसित ‘रोमान्टिक ट्रयाजिडी’ जोडीनु आवश्यक छ? सायद उत्तरहरू खोज्दा खोज्दै उनी जुन निष्कर्षमा पुगे, त्यही अनुसार उनले आफ्नो जीवनको स्क्रिप्ट पुरा गरिदिए । शरद ऋतुले समालोचकमा लेखेका हुन् ।

     

     

    LEAVE A REPLY

    Please enter your comment!
    Please enter your name here