पत्रकारिताको धर्म : डुबिरहेको मान्छेलाई बचाउने कि समाचार बनाउन फोटो मात्र खिचिरहने ?

0
537
तस्बिर - एजेन्सी

 केही समयअघि कलंकीको एक गल्लीमा एकजना जड्याहा अधबैँसे महिलालाई पिटिरहेका थिए र महिला विलौना गरिरहेकी थिइन्। नजिकै एकजना पत्रकार आफ्नो क्यामेरामा दृश्य कैद गरिरहेका थिए। पिटाइले ती महिलाको मुखबाट रगत निस्किँदा पनि ती पत्रकार दृश्य खिचिरहे।

भोलिपल्ट त्यो घटना समाचार बनेर छापियो। यो सबैमा लागू नहोला, तर ती पत्रकारको पत्रकारितालाई सोध्न मन लाग्यो- पत्रकारितामा सामाजिक दायित्व हुँदैन र?पत्रकारिता देशको चौथो अंग हो। पत्रकारहरूको समाज र देशप्रति अतुलनीय योगदान हुन्छ।

कतिपय आफ्नो दायित्व र नैतिकता बिर्सेर नाममात्रको पत्रकारिता गर्छन्, जुन विल्कुल गलत हो। पत्रकारिताको नाममा सामाजिक दायित्वलाई ओझेलमा पार्नु हुँदैन। एउटा उदाहरण हेरौँ- कोही व्यक्ति समुद्र वा खोलामा डुबिरहेको छ, उसलाई बचाउने कि त्यो कैद गरेर समाचार बनाउने ?

यो बहसको विषय बन्न सक्छ। राज्यले घोषणा गरेका भूमिगत आतंकाकारीकहाँ पुगेर पत्रकार अन्तर्वार्ता लिन्छन् र सन्सनी समाचार बनाउँछन्। राज्यलाई चाहिँ आतंककारीको बारेमा खबर गर्नु दायित्व होइन र ?

प्रेस स्वतन्त्रता भरपूर उपयोग गर्ने अखबारहरूमा अचेल कर्तव्य र जिम्मेवारीसुहाउँदो सजगता भेटिन कठिन छ। कहिलेकाहीँ सञ्चारमाध्यममा प्रकाशित हुने अधारहीन र अप्रमाणित समाचारले समाजमा अतुलनीय योगदान दिएका व्यक्तिको मर्यादा र वृत्ति विकासमा आँच पुर्याउँछ। बद्नाम, भ्रष्ट, अकूत सम्पत्ति कमाएको भन्ने उपमा दिएर केही अप्रमाणित समाचार पनि छापिन्छन्, जसले गर्दा यसले ती व्यक्तिको आत्मसम्मानमा ठेस पुर्याउँछ।

साँच्चिकै भ्रष्ट छ भने त्यो सूचना जनतासामु पुर्याउनुपर्छ तर विनाआधारका समाचारले नकारात्मक छाप छोड्छ। व्यक्तिगत र सामाजिक मर्यादा क्षय हुने, मानवीय संवेदना स्खलित तथा खण्डित गर्ने यस्ता भ्रामक सूचना समाजको लागि कति ग्राह्य र उपयोगी हुन्छन्, यसबारे संवेदनशील हुनु जरुरी छ।

मर्यादित, स्वस्थ र स्वच्छ पत्रकारिताको विकासका निम्ति पत्रकार आचारसंहितालाई प्रभावकारी ढंगबाट अनुगमन गर्नुपर्ने अवस्था छ। अहिले पत्रकारितामा योग्यता र सीपको अभाव खट्किएको छ।

कुनै जीवित व्यक्तिको मृत्यु भयो भनेर भ्रामक समाचार बनाउँदा त्यसले समाज र सम्बन्धित परिवारमा नकारात्मक असर पुर्याउँछ। तर गलत सूचनाले पुर्याएको असरको क्षतिपूर्ति कसले तिर्ने ? यससम्बन्धी पनि केही कानुन आवश्यक छ।

अनि अर्को खट्किएको कुरा, कुनै महिला बलात्कार भइन् भने सञ्चारमाध्यम र सामाजिक सञ्जालहरूमा तिनको तस्बिर, नाम प्रकाशित गर्छन्। यसले ती महिलाको सामाजिक मर्यादामा आँच पुर्याउँछ, तर यसबारे कसैले हेक्का राख्दैनन्। उल्टै ती महिलाको चरित्रमाथि अनेक प्रश्न उठाइन्छ।

त्यस्तै सामाजिक मर्यादाप्रति आँच पुर्याउने खालका सामग्री चयनप्रति पनि गुनासो बढ्दो छ। सामाजिक महत्वको विषयले कम महत्व पाउँछन्। अशिक्षा, गरिबी, बेरोजगारको पीडामा जकडिएका जनताको पीडा, मर्काले कम स्थान पाउँछन्।

यहाँ कसैले समाजका लागि पाँच लाख दान गर्यो भने त्यो समाचार बन्दैन, तर नेता-अभिनेताले जन्मदिन मनाएको विषयलाई प्राथमिकताका साथ छापिन्छ। कलाकार हनीमुन मनाउन कहाँ गए, कस्तो लुगा लगाएर गए, के खाए जस्ता विषय प्राथमिकताका साथ छापिन्छ। नेताहरू छुट्टी मनाउन कहाँ गए, कतिपटक बैठक बसे, के खाए भन्ने विषय पनि प्राथमिकताका साथ छापिन्छ।

यसैगरी, विकट पहाडी जिल्लामा सिटामोल नपाएर बिरामीको मृत्यु भयो भने समाचार बन्दैन र बने पनि प्राथमिकतामा पर्दैन तर यहाँ कुन हिरो-हिरोइन कामुक देखिए, पार्टीमा केके लगाएर गएका छन्, कोसँग गइन्, कसको हात समातेकी थिइन् भन्ने विषयले प्राथमिकता पाउँछ। कतिसम्म भने तिनका बालबालिकाको नाम, अनुहार कसैसँग मिलेको आधारहीन कुराले उचित ठाउँ पाउँछ।

हामीकहाँ एक छाक खान नपाउने टुहुरा बालबालिका छन्। उपचार नपाएर बाँच्नेहरू छन् र आ श्रय नपाएका महिला छन्। बरु तिनका बारेमा लेखौँ, पत्रपत्रिकामा छापौँ, जसबाट उनीहरूको जीवनले नयाँ मोड लिन सकोस्।

कसैकसैले सामाजिक कार्य पनि गरिरहेका छन् र समाजलाई योगदान दिइरहेका छन् भने तिनका बारेमा पनि प्राथमिकताका साथ लेखेर छापौँ। यसले अरूलाई पनि हौसला र प्रेरणा मिल्छ। समाचारकै आधारमा कतिपयले गरिब, अनाथलाई सहयोग गर्छन्।

यसले सहयोग दिने, सहयोग प्राप्त गर्ने र समाचार पढ्नेको मन आनन्दित हुन्छ। आत्मसन्तुष्टि प्राप्त हुन्छ।आजभोलि सूचना सम्प्रेषण गर्ने माध्यम विस्तार भएको छ। कार्यक्रम भइरहेको छ, त्यसका बारेमा देशविदेशका मानिसले थाहा पाउँछन्। यो सूचना युगको देन हो।

यसलाई दुरुपयोग गर्यौँ भने समाजलाई विकृत बनाउँछ। सञ्चारमाध्यम, सामाजिक सञ्जाल गलत सूचना, अफवाह र घृणा फैलाउने माध्यम होइनन्। पत्रकारिता जनताको आवाज हो। समाजमा व्याप्त अराजकता, विसंगति हटाई असल समाज निर्माणमा रचनात्मक भूमिका निर्वाह गर्नु पत्रकारिताको धर्म हो। पत्रकारहरूको दायित्व पनि हो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here